काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नयाँ बनेको सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाडफाँडमा कुरा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाएको छ। माओवादीले ५ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा, जनता समाजवादी पार्टीले २ वटा र अन्य साना दलहरुलाई ४ वटा मन्त्रालय छुट्याइएको छ।
एमालेले सचिव रघुविर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ। ज्वालाकुमारी साहको पनि टुंगो लागेको छ। उनी पुस १० गते एमाले माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि मन्त्री बनेकी थिइन्। त्यतिबेला उनी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी थिइन्। अहिले भने उनको मन्त्रालय टुंगो लागेको छैन।
धनकुटाबाट निर्वाचित सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बन्ने भएका छन्। उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी छ। राई पनि पुस १० को गठबन्धनपछि मन्त्री बनेका थिए।
बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्री बन्ने भएका छन्। उनी पनि पुस १० गते गठबन्धन हुँदा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
रास्वपाबाट सभापवति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्। त्यसैगरी रास्वपाले सुमना श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेवारी दिने भएको छ। विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघि विनाविभागीय मन्त्री बनेका डोलप्रसाद अर्याल श्रम मन्त्री तथा रोजगार मन्त्री बन्ने भएका छन्।
यसैगरि, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन्। त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन्।
माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ। त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्। जसपाले मन्त्रीहरुको नाम दिएको छैन। सबै मन्त्रीहरुको शपथ भने साढे ४ बजेका लागि तयारी भइरहेको बताइएको छ।