जनकपुरधाम- रामजानकी विवाहोत्सवमा सहभागी हुन जनकपुर पुग्ने क्रम सुरु भएको छ। २६ मंसिरमा मनाइने रामजानकी विवाहोत्सवमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदैछन्। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउने भएपछि विवाहोत्सवमा अन्य वर्षहरुको अपेक्षा यसवर्ष तिर्थालुहरुको भिड बढ्ने अनुमान गरिएको छ।
मुख्यमन्त्री आदित्यनाथ र श्रद्धालुहरुको भिडलाई दृष्टिगत गरी सुरक्षा निकायले विशेष सुरक्षा योजना तयार पारेको छ। मुख्यमन्त्री आदित्यनाथका साथै नेपाल तथा भारतका विशिष्ठ अतिथिहरु जनकपुर आउने भएपछि जिल्ला सुरक्षा समितिले विवाहोत्सवलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेको हो।
विवाहोत्सवमा सरिक हुन आउने विशिष्ठ अतिथिका साथै तिर्थालुहरुलाई सुरक्षा र सहजता प्रदानगर्न सुरक्षा निकायले ‘ड्रोन क्यामरा’ बाट निगरानीका साथै ‘रैपिड कम्युनिकेसन सिस्टम (आरसीएस)’ प्रयोगमा ल्याएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्रीका साथै विशिष्ठ अतिथि तथा तिर्थालुहरुलाई सुरक्षा र सहजता प्रदान गर्न तीन हजारको संख्यामा नेपाल प्रहरी परिचालन गर्ने तयारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए। विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्रीका साथै लाखौंको संख्यामा श्रद्धालु सहभागी हुने भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गरी सादा पोशाकसहित तीन हजारको संख्यामा नेपाल प्रहरी परिचलान गरिने उनले बताए।
‘भिआइपी तथा भक्तजनहरुलाई सुरक्षा र सम्मान दिने उद्देश्यका साथ हामीले सुरक्षा योजना तयार पारेका छौं,’ नेपाल समयसँग कुरा गर्दै प्रवक्ता थापाले भने,‘प्रहरीले आरसीएस प्रणाली अपनाएर भिडियोमार्फत हरेक गतिविधिको निरीक्षण गर्नेछ।’ यसका साथै धेरै भिडभाड हुने स्थान जानकी मन्दिर र रंगभूमि मैदान क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गरी हरेक गतिविधिहरु निगरानी गरिने उनले बताए।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर पुग्दा संभावित ‘सेक्युरिटी थ्रेटका’ का बारेपनि सुरक्षा निकायले विश्लेषण थालेको छ । सुरक्षा चुनौतीको आधारमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई सुरक्षा उपलब्ध गराइने एक प्रहरी अधिकृतले बताए। नेपालीका साथै आदित्यनाथको आफ्नै सुरक्षाकर्मीसमेत रहने उनले जानकारी दिए।
रामजानकी विवाहोत्सवलाई मध्यनजर गरी सीमा क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाइएको छ। खुल्ला सीमाका कारण दुई मुलुकबीच सहज आवतजावत रहेकाले सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारिएको प्रदेश प्रहरीका प्रवक्ता थापाको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४