काठमाडौं- कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन विघटनको संघारमा पुगेको छ। नयाँ गठबन्धनका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता लिइसकेका छन्।
प्रचण्डले कांग्रेसलाई बिदा गरेर एमाले र रास्वपासँग गठबन्धन गर्न लागेका हुन्। यसमा उपेन्द्र यादव नेतृत्वको जसपा पनि मिसिनेछ।
हिजोमात्रै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एक्लै वार्ता गरेका थिए। त्यस्तै, साँझ महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो।
आज बिहानैदेखि दलहरु बिहानैदेखि बैठकमा जुटेका छन्। माओवादीको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ भने नेकपा एमालेको सचिवालय बैठक ओली निवास बालकोटमा बसिरहेको छ। रास्वपाले पनि सचिवालय बैठक बोलाएको छ।
परिस्थिति परिवर्तन भएपछि सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। आज बिहान ८ बजेका लागि बोलाइएको बैठक औचित्य नभएपछि नबसेको हो। यसैगरी परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अचानक स्थगित भएको छ। उनी आज फिनल्याण्ड प्रस्थान गर्ने कार्यक्रम थियो।
आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनका आधारभूत विषयमा लगभग सहमति भएको बताइएको छ।
सो छलफलपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी उपमहासचिव वर्षमान पुनले फेरि छलफल गरेका थिए। गठबन्धनको अन्तिम खाका बनाउने जिम्मेवारी यी दुई नेतालाई दिइएको छ।
नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। अर्थमा रास्वपाकै स्वर्णीम वाग्लेको चर्चा छ। एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। सभामुख एमालेकै छन्।