काठमाडौं- नेपालमा भइरहेको गैंडा संरक्षण अभियानप्रति दक्षिण अफ्रिकी ऐक्यबद्धताको सन्देश बोकेर १७ हजार किलोमिटर लामो यात्रा तय गर्दै दक्षिण अफ्रिकी अभियन्ता टोली सोमबार काठमाण्डौं आइपुग्दैछ।
७२ वर्षिय दक्षिण अफ्रिकी अभियन्ता किंग्सले हलगेट नेतृत्वको छ सदस्यीय टोली तीनवटा ल्याण्डरोभर गाडी सवार भएरै दक्षिण अफ्रिकाको केप टाउन देखि दक्षिण एशियाको काठमाण्डौंसम्मको यात्रा स्थल र जलमार्ग हुँदै तय गरेको हो। टोलीमा किंग्सलेका छोरा रोस किंग्सले, सिलागाह हलगेट, माइक निक्सनलगायतको सहभागीता छ।
साहसिक यात्राको क्रममा माइक निक्सनले सम्भव भएसम्मको स्थानमा साइकल यात्रा समेत गरेका छन्। साहसिक अन्वेषक किंग्सले हलगेट नेतृत्वको यात्रा टोली गैंडा शिकारविरुद्ध दक्षिण अफ्रिकी यूवाहरुको सन्देश बोक्दै भैरहवा नाकाबाट शनिबार नेपाल प्रवेश गरेका हुन्।
यो टोली विश्व शान्ति नोबेल पुरस्कार विजेता अफ्रिकी नेता नेलशन मण्डेला डेको अवसर पारेर १८ जुलाईमा केप टाउनबाट काठमाण्डौंको लागी प्रस्थान गरेको थियो। १९ वटा मुलुक छिचोल्दैै १७ हजार किलोमिटरको दूरी तय गरेर शनिबार चितवन आइपुगेको भ्रमण टोलीकी सदस्य सिलागह हलगेटले नेपाल समयलाई जानकारी दिइन्।
यो टोली नेपाल र दक्षिण अफ्रिकाबीच पहिलो पटक कार्यान्वयनमा ल्याइएको यूवा लक्षित गैंडा संरक्षण अभियानको दक्षिण अफ्रिकी टोली नेपाली बालबालिकाको संदेश बोकेर स्वदेश फर्किनेछ।
टोलीले दक्षिण अफ्रिकी महान् नेता मण्डेलको जन्मशताब्दीको अवसरमा अफ्रिकी जनताले दिएको परम्परागत गाग्री(जुलु कालिबास) मा केपटाउनबाट एटलान्टिक समुन्द्रको पवित्र जल समेत बोकेर ल्याएको छ।
उनीहरुले दक्षिण अफ्रिकी आदिवासी बालबालिकाले कोरेको चित्र संदेशमा नेपालमा पाइने एकसिंगे गैंडा र अफ्रिकी सेतो गैंडाको चित्र कोरिएको छ। गैंडा चित्रकला यूवा अभियानको संस्थापक तथा संरक्षण अभियन्ता हलगेटले पाँच वर्षको अवधीमा गैंडा संरक्षण सम्बन्धी सचेतना अभियानमा ५ लाखभन्दा बढी दक्षिण अफ्रिकी बालबालिकालाई आवद्ध गरिसकेका छन्।
सफलताको कथा
भियतनाम र चीनमा गैंडाको खागको उच्च मागका कारण अफ्रिकामा झैं एशियामा डरलाग्दो रुपमा गैंडा शिकार भइरहेको छ। किंग्सले भनेका छन्, चीनसँग नेपालको खुला सीमाका बावजुद चितवन निकुञ्जले गैंडा संरक्षणमा सफलता पाएको छ।
सन् १९६० मा नेपालमा जम्मा १ सयको संख्यामा एक सिंगे गैंडा पाइने गरेकोमा चितवन निकुञ्जले संरक्षण अभियान संचालन गरेर अहिले ६ सयको संख्यामा गैंडा छ। यसको लागी उनले राजनीतिक इच्छाशक्ति र स्थानीयबासिन्दालाई धन्यवाद ज्ञापन गरेका छन्।
सामान्य तर प्रभावकारी अभियान
चित्रकलालाई माध्यमको रुपमा प्रयोग गर्दै आरक्षको संरक्षित क्षेत्र छेउछाउको बस्तीका बालबालिकाहरुलाई गैंडा संरक्षणको महत्वबारे बुझाउँदै उनीहरु स्वयम्लाई गैंडा चित्र सन्देश कोर्न प्रेरित गरिन्छ।
यो अभियानले समुदाय र निकुञ्जबीच सुमधुर सम्बन्ध स्थापित गर्न अवैध शिकारका कारण ग्रामीण रोजगार र पर्यटन व्यवसायमा पर्ने खराब असरबारे परिचित हुने अवसर दिलाउँछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४