बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्षसहित राष्ट्रिय सभाबाट २० जना बाहिरिँदै, नयाँ सांसदको शपथ भोलि

अध्यक्षसहित राष्ट्रिय सभाबाट २० जना बाहिरिँदै, नयाँ सांसदको शपथ भोलि

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- राष्ट्रिय सभाका २० जना सांसद आइतबारबाट बाहिरिँदैछन्। राष्ट्रपतिबाट मनोनित एकसहित २० सांसदको पदावधि आजबाट सकिएको हो।

National life

बाहिरिएका १९ सांसदको स्थानमा नयाँ निर्वाचित भइसकेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक जनाको सिट भने खाली छ।

आजबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनित र स्वतन्त्र एक-एक जना छन्।

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट बिदाइ हुँदैछन्।

यस्तै कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि ६ वर्षे कार्यकाल सकिएको छ।

kumari

माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा बिदाइ हुँदैछन्।

जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ।

रिक्त स्थानका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो, जसमा कोशी प्रदेशको एक सिटबाहेक सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्। 

मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।

बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन्।

गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन्।

लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी चुनिएका छन्।

कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द चुनिएका छन्।

नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ सोमबार ग्रहण गर्नेछन्। उनीहरूलाई उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रकाशित: Mar 03, 2024| 10:19 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्