जनकपुरधाम- २६ मंसिरमा हुने रामजानकी विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्यासहित विभिन्न स्थानबाट हिँडेका जन्ती सोमबार जनकपुर आइपुगेका छन्।
भारतको अयोध्यालगायत विभिन्न स्थानबाट विवाहोत्सवमा सहभागी हुन जन्तीका रूपमा आएका साधुसन्त धनुषाको जटही नाका हुँदै जनकपुर आइपुगेका हुन्।
धनुषाको नगराइन नगरपालिकास्थित जटही नाकामा भारतबाट आएका जन्तीलाई भव्य स्वागत गरिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जटही नाका पुगेर भारतबाट आएका जन्ती तथा अतिथिलाई स्वागत गरेका थिए। भारतीय जन्तीलाई स्वागत गर्न जानकी मन्दिरका छोटे महन्त रामरोशन दास स्वयं जटही नाका पुगेका थिए।
जटही नाकाबाट नगराइन नगरपालिकाको नगराइनस्थित विद्यालयमा भारतीय जन्ती तथा अतिथिलाई केहीबेर विश्राम गराइएको थियो। विश्रामकै क्रममा जन्तीका लागि नगराइन नगरपालिकाका तर्फबाट खाजाको व्यवस्थासमेत गरिएको थियो। भारतीय अतिथि नगराइन नगरपालिका पुगेपछि त्यहाँका स्थानीयसमेत स्वागत सत्कारमा जुटेका थिए। यसअघि भारतको अयोध्याबाट महोत्तरी नाकाबाट जन्ती आउने गरे पनि यस वर्ष भने धनुषा नाकाबाट आएका हुन्।
गाडी तथा घोडा चढेर पुगेका जन्ती तथा अन्य अतिथिको स्वागतका लागि नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको नेतृत्वमा प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव, मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, तरुण दल धनुषाका अध्यक्ष सञ्जयलाभ कर्ण, जनकपुर नगर समिति अध्यक्ष पंकज महतो, नेविसंघका जिल्ला अध्यक्ष सुजित मिश्र, तरुण दल धनुषाका पूर्व अध्यक्ष प्रफुल्लराज घिमिरे, नेता गणेश तिवारीसहित सयौंको संख्यामा नेता कार्यकर्ता तथा सर्वसाधारण जटही नाका पुगेका थिए।
दुई दिनअघि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने जन्ती तथा भारतीय अतिथिको स्वागतका साथै महोत्सव सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४