बिहीबार, चैत २६, २०८२

आजको प्रतिनिधिसभामा कुन सांसदले के भने ?

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

National life

सांसद ठाकुरप्रसाद गैरेले नेपालमा सुन्तला उत्पादनको सम्भावना राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सरकारी निकायबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न समेत माग गरे। 

सांसद डोलप्रसाद अर्यालले शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडित र नागढुङ्गा सुरुङमार्ग निर्माणमा भइरहेको ढिलाइबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरे। सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठाएकी थिइन्। सांसद दीपक खड्काले बाढी पहिरोपीडितले राहत तथा क्षतिपूर्ति पाउन नसकेको र सङ्खुवासभाको किमाथांका नाका खुल्न नसकेको बताए।

सांसद दीपा शर्माले राष्ट्रिय गौरवका आयोजना नै बजेट अभावका कारण समस्या रहेको बताएकी छन्। सांसद दिलेन्द्रप्रसाद बडूले संसद्मा दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको र मिटरब्याज्पीडितले न्याय पाउन नसकेको विषय उठाए। 

सांसद देवप्रसाद तिमलसेनाले पनि दुग्ध किसानले आफ्नो उत्पादनको मूल्य नपाएको विषयबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे। पशु चौपायामा लागेको लम्पीस्किन रोगको बीमाबापतको रकम भुक्तानी हुन नसकेको विषयमा पनि उनले उठाए। उनले सम्बन्धित विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रीमन्त्रीले सदनमार्फत जवाफ दिनुपर्ने माग गरे। सांसद नवलकिशोर साह सुडीले पनि दुग्ध किसान पीडित भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

kumari

सांसद दुर्गा राईले संसद्को कार्यतालिका बनेर कार्यान्वयनमा आए पनि विभिन्न बहानामा संसद् अवरोध भइरहेकोबारे ध्यानाकर्षण गराइन्। सांसद देवेन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेको दाबी गरेका थिए।

सांसद धवल शमशेर राणाले नेपालको संविधानमै व्यवस्था परिवर्तनको अधिकार दिएकाले संसद्मा फरक मत राख्न सकिने व्यवस्था राख्न सकिने जिकिर गरेका छन्। 

सांसद धनबहादुर बुढाले डोल्पाको विमानस्थल सञ्चालन हुन नसकेको विषय उठान गरे। सांसद निर्मला कोइरालाले मिटरब्याजपीडित र लघुवित्तपीडितले भोग्नुपरेको समस्यामाथि सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखिन्।

सांसद निशा डाँगीले हवाई यातायात असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद प्रतिमा गौतमले काठमाडौँको तीनकुने क्षेत्रको जग्गा अधिग्रहण गर्दा जग्गाधनीलाई सरकारले हालसम्म मुआब्जा वितरण नगरेको बताइन्। सांसद प्रतीक्षा तिवारीले शून्य समय एक मिनेटबाट बढाएर तीन मिनेट बनाउन माग गरेकी थिइन्।

सांसद प्रदीप यादवले केही इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक बन्द गर्ने सरकारको निर्णय नमानेको विषय संसद्मा उठाए। सांसद बद्रीप्रसाद पाण्डेले वर्षान्तको खर्च र असारे विकास रोकिनुपर्ने बताएका छन्। सांसद बलराम अधिकारीले वाणगङ्गा सिँचाइ आयोजनालाई केन्द्र सरकार मातहत ल्याउन माग गर्नुभयो। सांसद वासुदेव घिमिरेले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठाए।

प्रकाशित: Mar 01, 2024| 13:17 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्