बिहीबार, वैशाख २०, २०८१

विद्युत प्राधिकरणले कति कमायो ६ महिनामा नाफा ?

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

काठमाडौं- सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।

triton college

प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो । विद्युत खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा रु ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा रु १५ अर्ब ३६ करोड ६ लाख  नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु १० अर्ब ९१ करोड ६० लाख  थियो । गत आवको पहिलो छ  महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा रु चार अर्ब ४४ करोड ४६ लाखले बढी हो । गत आवको नाफा रु १२ अर्ब ३३ करोड थियो । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  विद्युत चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

“बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ । यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी गरिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने।

corrent noodles
Metro Mart

विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा आगामी वर्षमा रु १२ खर्बभन्दा बढीको लगानी आवश्यक पर्ने भन्दै नगद प्रवाहका लागि संस्थाको नाफाले नपुग्ने प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले चालु आवको छ महिनामा विद्युत बिक्रीबाट रु ४५ अर्ब ४९ करोड ३८ लाख सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी रु ३० अर्ब ४८ करोड ५८ लाखको विद्युत खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीबाट रु २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत आयात गरिएको हो ।

समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ रु नौ अर्ब तीन करोड ८४ लाख खर्च भएको छ । १३ अर्बको विद्युत निर्यात, दुई अर्बको आयात गरिएको जनाइएको छ । विद्युत प्राधिकरणको चालु आवको पहिलो छ महिनामा रु १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत भारततर्फ निर्यात गरेको छ । सोही अवधिमा रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा रु एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत निर्यात गरिएको छ । सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत आयोजनाको विद्युत उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत आयात गरिएको छ । वर्षायाम सुरुभएसँग फेरि विद्युत निर्यात सुरु हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्रकाशित: Feb 28, 2024| 17:54 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्