आइतबार, साउन १०, २०८३

आखिर के चाहन्छन् ओली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
आज देशमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र जनताबीच द्वन्द्व छ । यो द्वन्द्व लड्नेभिड्ने नभएर सोच र धारणाहरूको द्वन्द्व हो । उनको सोच हैकमी छ । लोकतन्त्रमा हैकम घातक हुन्छ । उनको शैली हुकुमी देखिन्छ । लोकतन्त्रको धर्म संवाद, परामर्श र विमर्श हो । आफ्ना आलोचकप्रति कोपभाव राख्नु र उनीहरूप्रति कुत्सित वाणीको प्रयोग लोकतन्त्रप्रेमीलाई नसुहाउने चरित्र हो । 

प्रदेश सरकारहरू गठन भएको महिनौंपछि बल्ल अन्तरप्रदेश परिषद् बैठक बस्दैछ । अधिकारका प्रश्नमा प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच द्वन्द्व छ । व्यक्तिको निजत्व र प्रतिष्ठाका सम्बन्धमा प्रधानमन्त्री र उनको दलका कार्यकर्ताबीच द्वन्द्व छ । प्रधानमन्त्री र नेकपाका नेता भीम रावल, घनश्याम भुसालबीच द्वन्द्व छ । भीम रावल कुनै बेला ओलीका दाहिने हात थिए, पार्टीले दुई तिहाइ पाएपछि पाखा फालिएका छन् । भुसालको कुरा अर्कै हो, उनी शुद्ध कार्यकर्ता नभएर 'नव–माक्र्सवादी' बुद्धिजीवी बढी हुन् । त्यसै पनि शासनमा बसेका औसत प्रकारका मानिसलाई ज्ञानसँग वैरभाव हुन्छ (यस कालखण्डका नेताहरू अधिकांश औसत नै छन्) । ओली त झन् दुई तिहाइ उक्लिएको सत्ताका मालिक भएका छन् । त्यसैले भुसाल ओलीका लागि बैरीतुल्य हुनु अस्वाभाविक होइन ।  

आजका मितिमा ओलीसँग द्वन्द्व नभएका 'जीवित' व्यक्ति हुँदै नभएका भने होइनन् । छन् तर एकमात्र । ती को हुन् विस्तारपूर्वक भनिरहनै पर्दैन । उनी हुन् नेपाल कम्युनिस्ट पार्टीकै अर्का अध्यक्ष प्रचण्ड अर्थात् पुष्पकमल दाहाल । दाहाल अचेल ओलीका कुरा काट्दैनन्, उनी जे भन्छन् सही थापिदिन्छन् । असहमति नै भए पनि मनमनै पचाइदिन्छन्, उनलाई सच्याउन खोज्दैनन् र ओली सच्चियून् भन्ने छैन पनि । यस्तो अकारण होइन, यसको कारण छ । त्यो कारण हो ओली प्रधानमन्त्रीमा जति छिटो बदनाम हुन्छन्, सिंहदरबारमा प्रचण्डको पालो त्यति नै छिटो आउने हो । ओली सच्चिनु भनेको आफ्नै पालो पर सार्र्नु हो भन्ने कुरा प्रचण्डले राम्ररी बुझेका छन् ।

तर नेकपा र ओलीसँग कुनै साइनो नभएको मजस्ता धेरैलाई यो सरकारको स्थायित्वलाई लिएर चिन्ता छ । धेरै चिन्ता छ । प्रधानमन्त्री ओलीका अहंकारी र बढ्दो मात्राका अशोभनीय अभिव्यक्तिले वर्तमान संविधानअन्तर्गत भएको पहिलो निर्वाचित सरकारले कतै आफ्नो कार्यकाल पूरा नगर्ने अवस्था त आउने होइन ? फलस्वरूप बीचैमा कुनै उत्पात हुने त होइन ? भन्ने आशंका लाग्न थालेको छ । यो आशंका हरेक लोकतन्त्रप्रेमीलाई लागेको हुनुपर्छ किनभने निर्वाचनपश्चात् पहिलो कार्यकालमै अस्थिरता प्रारम्भ भयो भने त्यही नै चलन बन्न जान्छ । फेरि कुनै सरकार स्थिर बन्ने सम्भावना न्यून हुन जान्छ ।  दुई तिहाइकै सरकारले समेत संसदीय अवधिभर शासन गर्न सकेन भने स्थापित व्यवस्थाकै औचित्यमाथि प्रश्न उठ्नेछ र त्यो प्रश्न अस्वाभाविक हुने छैन ।
 
ओली काम गरेर देखाउँछु भनिरहन्छन् तर कामचाहिँ कहिलेदेखि गर्न थाल्ने हुन् टुंगो छैन । अब त कस्तोसम्म भइसक्यो भने काम बरु गरे गरून्, नगरे नगरून्, तर बोल्नचाहिँ कम गरिदिए हुन्थ्यो ।

ओलीसँग दुई तिहाइ के झन्डै तीन चौथाइकै समर्थन छ । उनलाई लागेको हुन सक्छ यति बलियो समर्थन भएको सरकारलाई कसैले हल्लाउन सक्दैन । प्राविधिक हिसाबले यस्तो सोचाइ असंगत होइन तर यस्तो समर्थन हुनु भनेको जाथाभावी गर्न पाउने छुट भने होइन । दुःखका साथ भन्नुपर्छ, यो कार्यकाल प्रारम्भ हुँदैदेखिका ओलीका धेरैजसो उक्ति, प्रयुक्ति र अभिव्यक्ति राज्यको उच्चासनमा बसेको व्यक्तिबाट अपेक्षा नै गर्न नसकिने खालका अर्थात् निम्नस्तरका रहे । यसपालि सत्तासीन भएदेखि नै किन हो कुन्नि प्रधानमन्त्री ओली जनस्तरका आवाजको अवमूल्यन र दम्भ प्रदर्शन गर्न थाले । आफ्नै दलका सहयोगी र आफू समानका वय र हैसियतका नेताहरूलाई समेत उनी अवमूल्यन गर्न पछि पर्दैनन् भन्ने कुरासँग यता आएर धेरै कमै मात्र अनभिज्ञ छन् । शनिबार उनकै दलका चार नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले उनीसँगको बैठकै बहिष्कार गर्नुपर्ने अवस्था आयो । 

लोकतन्त्रमा राज्यको कुनै पनि पद आलोचनामुक्त हुँदैन । आफ्नो आलोचना भयो भनेर धाकधम्की त सामान्य मानिसले गर्न मिल्दैन भने प्रधानमन्त्री जो राज्यको हरेक कामप्रति उत्तरदायी हुन्छ, उसले नै पौंठेजोरी खैल्ने भाषा बोल्नु कदाचित शोभनीय होइन । तर पछिल्लोपटक त उनले हदै पार गरेर बुद्धिजीवीमाथि विषवमन गरे । उनले एउटा इसाई प्रचारक संस्थाको कार्यक्रमलाई राज्यकै स्रोतसाधन दुरुपयोग गर्दै सहयोग गर्नेजस्ता क्रियाकलाप गरेर राज्यप्रथाकै अवमूल्यन गरे । त्यतिमात्र होइन, सम्मेलन अवधिभर आयोजकहरूसँग होटलमा बासै बसेर उनले सम्पूर्ण राजकीय मर्यादा उल्लंघन गरे । 



यसमा ओलीको पार्टीभित्र बाहिर सर्वत्र आलोचना भयो । आलोचना भयो भनेर उनी सरकार प्रायोजित एउटा टिभी कार्यक्रममा बम्किए । प्रश्न छ, त्यस्तो अमर्यादित कृत्यको आलोचना नगरेर के प्रशंसा गर्नु पथ्र्यो ? तर प्रशंसा गर्नु कसरी ? प्रशंसा गर्ने ठाउँ छोडेको भए न प्रशंसा गर्नु ! यसबीच कसैले कुनै जिज्ञासावश प्रश्न गरे ओठे जबाफ दिने, सार्वजनिक हितमा कुनै माग गरे त्यसको हुर्मत लिने, प्रतिपक्ष बोल्यो कि त्यसको प्रत्युत्तर होच्याएर दिनेजस्ता अनेकन् प्रसंग आएका छन् ।

यसपालि प्रधानमन्त्री भएदेखि नै ओली आफैं विश्वविजयी भएको झैं व्यवहार गरिरहेका छन् । के कारण हो, उनका नजिककाहरूलाई थाहा होला । सुरुकै दिनमा चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर डाक्टर गोविन्द केसी जुम्ला गएर अनशन बसे । डाक्टर किन अनशन बसे त्यसलाई गम्भीरतापूर्वक लिनु साटो डाक्टरविरुद्ध उनी व्यंग्य र त्यसपछि क्रमशः शब्दवाण प्रहार गर्न थाले । यसले ओली लोकको नजरमा गिर्दै गए, तर उनले त्यसको भेउ पाएनन् । उनका वरिपरि विचरण गर्ने पात्रहरू सम्भवतः शारीरिक रूपमा उपस्थित भए पनि सम्भवतः बोलेनन्, बोल्न सकेनन् अथवा हुनसक्छ, बोल्न सक्ने हिम्मत भएका पात्र नै छैनन् उनका आसपास । 
 
आफ्नो आलोचना भयो भनेर धाकधम्की त सामान्य मानिसले गर्न मिल्दैन भने प्रधानमन्त्री जो राज्यको हरेक कामप्रति उत्तरदायी हुन्छ, उसले नै पौंठेजोरी खैल्ने भाषा बोल्नु कदाचित शोभनीय होइन ।

सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्दा नयाँ युगको सुरुवात भन्ने लेखिएका आफ्नै फोटा भएका पोस्टरहरू सहर–सहरभर टाँसेर बित्थाको खर्च गर्नु, निर्मला पन्तको बलात्कार र हत्या भएको चार महिना कटिसक्दा पनि हत्यामा संलग्नलाई समात्न नसक्नु तर देशमा सुशासन ल्याएको भन्ने नाममा एउटा इसाई प्रचारक विवादास्पद संस्थाबाट पुरस्कार थाप्नु जस्ता विवाद र आलोचना निम्त्याउने काम किन गर्नु ? एकपछि अर्को यस्तैयस्ता कार्यकृत्यका कारण हिजोका उनका प्रशंसक र शुभचिन्तकसमेत कटु टिप्पणी गर्न थालेका छन् । किनभने ओली क्रमशः भड्खारोतर्फ उन्मुख भइरहेका छन् । वास्तवमा सुझाएर हार खाएपछि उनीहरू आलोचना गर्न थालेका हुन् । 

निश्चय नै ओली काम गरेर देखाउँछु भनिरहन्छन् तर कामचाहिँ कहिलेदेखि गर्न थाल्ने हुन् टुंगो छैन । अब त कस्तोसम्म भइसक्यो भने काम बरु गरे गरून्, नगरे नगरून्, तर बोल्नचाहिँ कम गरिदिए हुन्थ्यो । किनभने प्रधानमन्त्री देशको प्रमुख कार्यकारी प्रमुख हो । उनी बोल्दा मानिसका मुखबाट गाली निस्कनु किमार्थ राम्रो होइन । बोलेरै उनले आफ्नो र आफ्नो दलको मात्र होइन, व्यवस्थाकै छवि ध्वस्त पार्दैछन् भनेर उनकै शुभचिन्तकहरू गुनासो गर्न थालिसकेका छन् ।

प्रश्न उठन् थालेका छन्– के चाहन्छन् ओली ? उनी आफ्नै पदावधि छोट्याएर प्रचण्डलाई यथासक्य छिटै प्रधानमन्त्रीको पदभार सुम्पन चाहन्छन् भनेचाहिँ उनले अवलम्बन गरेको स्वभाव प्रभावकारी र प्रचुर मात्रामा सहायक हुनेछ । तर होइन, कार्यप्रदर्शन गरेर आफ्नो कार्यकाल पूरा गर्न चाहन्छन् भने उनको यो स्वभाव र शैली पाइला–पाइलामा बाधक हुनेछ । ख्याल रहोस्, उनको अहंकार र जनताको आकांक्षाबीच द्वन्द्व सुरु भइसकेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।