मंगलबार, कात्तिक २५, २०८२

'कालो सुन' ले भाउ पाएपछि हौसिए ताप्लेजुङका किसान

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

फुङलिङ (ताप्लेजुङ)- कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन्। गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यस वर्ष प्रतिमन ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन्। एक मनमा ४० केजी अलैँची हुन्छ।
    
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु ७० हजारदेखि रु ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए । “सुरुआतमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।”

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । “पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो”, उनले भने।

अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । “गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन रु ७८ हजारदेखि रु ८० हजारसम्म अलैँची बिक्री गरेका छन्”, उनले भने।

अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।

प्रकाशित: Feb 25, 2024| 06:00 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्