जनकपुरधाम- त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको मान्यता अनुसार विवाहपञ्चमी महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार धनुषयज्ञ कार्यक्रम सम्पन्न भएको छ।
जनकपुरको रंगभूमि मैदानमा भव्य समारोहका बीच भारतका विभिन्न स्थानबाट आएका विशिष्ठ साधुसन्त, तिर्थालु तथा स्थानीय सर्वसाधारणका उपस्थितिमा धनुषयज्ञ कार्यक्रम सम्पन्न भएको हो।
रामजानकी विवाहोत्सवको अवसरमा जानकी मन्दिरले हरेक वर्ष धनुषयज्ञको आयोजना गर्ने गरेको छ। मिथिलाका राजा जनकले शिव धनुष तोड्न सक्ने व्यक्तिसँगमात्र जगज्ननी सीताको विवाह हुनसक्ने शर्त राखेका थिए। र, सोही मान्यता अनुसार विवाहोत्सवमा धनुषयज्ञ कार्यक्रम हुने गरेको छ।
सीताको पिताको भूमिका निर्वाह गरिरहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दासले कार्यक्रमको सुरुवातमै रामले शिवधनुष नतोड्ने हो कि भनेर अयोध्यावासी चिन्तित बनेको ठट्यौली गरेपछि केहिबेर त्यहाँ उपस्थित सबैजनाबीच हाँसो उठेको थियो।
धनुषयज्ञ कार्यक्रममा मर्यादा पुरुषोत्तम रामका पिता दशरथको भूमिकामा थिए भारत महाराष्ट्र मुम्बईस्थित मंगलपिठाधीश याज्ञिक सम्राट आचार्य माधवजी आचार्य।
यसैगरी अयोध्याका वृजमोहन दासजी महाराज वशिष्ठ, वृंदावनका फुलडौल दासजी महाराज विश्वामित्र र उडिसाका स्वामी रामकृष्ण दासजी महाराजले वामदेव ऋषिको भूमिका निर्वाह गरेका थिए।
धनुषयज्ञ कार्यक्रममा शिवधनुष तोडिए संगै सोमबार तिलाकोत्सव (छिनोफानो) कार्यक्रम हुनेछ । राम र सीताबीच विहे तय गरिने परम्परा अनुसार तिलकोत्सव कार्यक्रम मनाइने गरिन्छ । यस अवसरमा जानकी मन्दिरले मिष्ठान, फलफूल, लत्ताकपडा लगायतका सामग्रीसहितका कोसेली राम मन्दिर पु¥याउने परम्परा रहेको छ।
सोमबार पुग्दैछ जन्ती
राम जानकी विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्यासहित विभिन्न स्थानबाट विशिष्ठ जन्तीहरु सोमबार जनकपुर पुग्ने भएका छन्। विवाहोत्सव समारोहमा सरिक हुन भारतबाट हाती, घोडा र उँटमा सवार जन्तीहरु सोमबार बिहान जनकपुर पुग्ने जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए।
हाती, घोडा र उँटमा सवार भएर आउन लागेका जन्तीहरु जिल्लाको सीमावर्ती नगराईन नगरपालिकाको जटही हुँदै जनकपुर पुग्ने बताइएको छ। विवाहोत्सवमा सहभागी हुन जनकपुर आउन लागेका जन्तीहरुलाई जटही नाकामै पुगेर स्वागत गर्न नगराईन नगरपालिका र नेपाली कांग्रेस धनुषाले सम्पूर्णमा आग्रह गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४