बिहीबार, चैत २६, २०८२

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु

 |  शुक्रबार, फागुन ११, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ११, २०८०

लुम्बिनी- बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला  आयोजना गरेका हुन्।

National life

यही फागुन १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे। उनले नीति निर्माता, कर्मचारी र किसानबीचको तालमेल नमिल्दा कृषिमा सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए। 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालमा कूल जनसङ्ख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कृषि क्षेत्रको योगदान २४ प्रतिशतमात्रै रहेको र त्यसलाई सुधार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदानमा बढोत्तरी गर्न अपरिहार्य भएको बताए।

लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले कृषिको व्यावसायिक विकास र आधुनिकीकरण नभएसम्म आर्थिक समृद्धि हासिल नहुने बताए। 

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी कृषि सचिव नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासङ्घका  सदस्य केशव भण्डारीले कृषि क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नुपर्ने सुझाव दिए।

kumari

बुटवल उद्योग वाणिज्य सङ्घले २०६२ सालदेखि नियमितरूपमा कृषि मेला आयोजना गर्दै आएको छ। पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिइएको छ। उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपक्षी तथा मत्स्यजन्य पदार्थ उत्पादनका बारेमा जानकारी दिइने छ। प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतिको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसेरिनरीसम्बन्धी जानकारी गराइने छ।

कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धन, कृषि, पशुपक्षी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री वितरणमा भएका उपलब्धिको जानकारी गराइने छ। मेलामा जीवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिकखेतीका लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तरक्रिया तथा छलफल गरिने छ। 

त्यसैगरी मेलामा शुक्रबार र शनिबार  बाली परीक्षण शिविर सञ्चालन गरिने छ भने शनिबारदेखि नै तीन दिन माटो परीक्षण शिविर सञ्चालन हुने सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

प्रकाशित: Feb 23, 2024| 10:10 शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्