शनिबार, भदौ १३, २०८३

सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

कर्णाली- स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ। कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो। खोप सेवा प्रदान गर्न कार्यालयले दुई सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार एक सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ।

पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए। खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उनले आग्रह गरे।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिका समेटिउन् भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताए। ‘अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ’, उनले भने, ‘दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकाले यसलाई सफल पार्न सबै सरोकारवालामा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ।’

प्रकाशित: Feb 22, 2024| 22:01 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्