काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्थामा रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।