पर्वत- लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन्। झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन्।
किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत हिउँदे खेतीको उत्पादन घटेर करोडौँको नोक्सानी हुने अवस्था देखिएको छ।
पर्वतमा अहिले मकैबाली लगाउने याम भएको छ। वर्षा नहुँदा धान काटेपछि बाँझै रहेका खेत जोत्न समेत नपाइएको किसानले गुनासो गरेका छन्। व्यावसायिक तरकारी खेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन्।
लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए। खेतमा मकै लगाउने बेला भइसकेपनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए। उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन।
कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्याएको छ। सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए। ‘बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ। त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ’, उनले भने।
सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन बढ्ने अधिकारीले बताए। ‘यो बेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिने हो भने अब लगाउने बालीनालीमा धेरै सहयोग हुन्छ’, उनले भने। चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उनको भनाइ थियो।
पर्वतमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठुलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ। तेलहन बालीमा मात्र ३० प्रतिशत भन्दा बढीले उत्पादनमा कमी आउने प्रमुख अधिकारीको अनुमान छ।
त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन्। उनका अनुसार जिल्लाको पातीचौर र मिलनचोक क्षेत्रका साथै दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ।
कतिपय ठाउँमा बालीनालीनै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाइएका बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। अर्कोतर्फ पानीको वैकल्पिक स्रोत समेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्न समेत नपाएको किसानले गुनासो गरेका छन्।
जिल्लामा झण्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमा पानी बन्द हुँदा झनै समस्या भएको केन्द्रले जनाएको छ।
सानातिना मूलको भरमा खेती गर्दै आएका किसान खडेरीका कारण मूल सुकेपछि झनै चिन्तित भएका शङ्करपोखरीका किसान कुलप्रसाद तिवारीले बताए। उनले भने, ‘मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्यामा भएको छ।’
यो महिनाभरीमा वर्षा नहुने हो भने मकैखेती र लहरेबाली उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ। खडेरीले यसवर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो हानि गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीको अनुमान छ।