बुधबार, चैत २५, २०८२

चिम्टेश्वर क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

नुवाकोट- धार्मिक, ऐतिहासिक, पर्यटकीय र  पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन्।

National life

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको उक्त क्षेत्रमा पूर्वधार र वातावरणीय विकास गरी संरक्षण र प्रवर्द्धन गर्न नरपालिकाले चिम्टेश्वर क्षेत्र विकास समिति ऐन जारी गरी समिति गठन गरेको छ।

सो क्षेत्रमा बागमती प्रदेश सरकारले पाँच करोडको लगानीमा ‘भ्यू टावर’ निर्माण गरेपछि पर्यटक वृद्धि भएको छ भने चिम्टेश्वर मन्दिरको सरसफाइ र व्यवस्थापनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाले काम गरिरहेको छ। पालिकाको २५ लाखको लागतमा मन्दिर जान सिँढी निर्माण भएको छ। यस्तै सिमसार पोखरी र पानी ट्यांकी निर्माणमा डेढ करोड खर्च भएको छ।

पछिल्ला दिनमा यस क्षेत्रमा विभिन्न राजनीति र सामाजिक संस्थाहरुले वनभोजलगायत सामाजिक गतिविधि बढाएका छन्। हालै ललितकलाका विद्यार्थीहरु पुगेर चित्रकला महोत्सव सञ्चालन भएको छ। चिम्टेश्वरमा काठमाडौंको बालाजुबाट पासाङ ल्हामु मार्गको रानीपौवा हुँदै र नुवकोटको त्रिशूलीबाट तादी हुँदै तथा अन्य विभिन्न मार्गबाट जान सकिन्छ।

काठमाडौंको स्वयम्भू-भीमढुंगा-चाउथे हुँदै ३३ किमी, बालाजु-रानीपौवा-जुरेथुमबाट ४६ किमी, बालाजु-तीनपिप्ले हुँदै ३७ किमी, नागढुङा-पिप्लामोड हुँदै २८ किमी, कलंकी -धार्के-बाह्रबिसे झ्याङ्ली हुँदै जान सकिन्छ।

kumari

चिम्टेश्वर महादेवस्थान नुवाकोटको साबिक बेलकोट, कुमारी, जिलिङ तथा दुईपीपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय महत्ववको क्षेत्र भएको स्थानीयबासी नारायण खनाल बताउँछन्।

विविध जडीबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुंगी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट काठमाडौं उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खालगायत जिल्लाका भूभागसमेत हेर्न सकिन्छ।

सो नरगरपालिकाको नवौँ नगरसभाबाट पारित चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र विकास गर्ने उल्लेख छ। पालिकाले चिम्टेश्वर, निरञ्जना, जलेश्वर, दुईपीपल, डबली, झिल्टुङकोट, मझुवादेवी थान, महाँमाया, कुमारीमाई वासुकीमाई, बाराहीमाई, कुमारी शहीदपार्क, डिकाचौर, झिल्केश्वर, जलेश्वर, काशीटार तथा बौद्ध धर्मावलम्बीको धार्मिक सम्पादाहरु दिप्छेन छोइलिङ गुम्बा, पारमेन्दो गुम्बालगायत ऐतिहासिक तथा प्राकृतिक सम्पादाहरु गुफा, ताल र खोलाहरुको संरक्षण गर्न समितिहरु गठन गरिने जनाइएको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न समुदायस्तरमा घरबास (होमस्टे) सञ्चालन गरिने पहिचान दिने कृषि उत्पादनमा वैदेशिक रोजगबारबाट फर्किएकालाई समावेश गरी परियोजनासँगै साझेदारी लगानी तथा वित्तीय लगानीको व्यवस्था गरिने नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेको भनाइ छ। यस क्षेत्रलाई विकास गर्न गुरुयोजना बनाएर केन्द्र र प्रदेश सरकारबाट बजेट ल्याउन प्रयास भइरहेको उनले बताए।

बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले यस क्षेत्रलाई मध्यपहाडीको विकासशील सम्भावनायुक्त क्षेत्रका रुपमा राखी तीनवटै तहका सरकारबाट एकीकृत विकासका काम गराउन पहल भइरहेको बताए। उनले नेकपा (एमाले) ले हालै सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा मध्यपहाडी (पुष्पलाल) राजमार्गभित्र सो क्षेत्र पनि पर्ने भएकाले यहाँका समस्या, सम्भवना, चुनौती र अवसरबारे सरकारलाई अवधारणापत्र दिइएको बताए।

नगरबाट गठित चिम्टेश्वर क्षेत्र विकास समितिका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाले मुलुकको राजधानी काठमाडौंबाट नजिक रहेर पनि विकासमा फड्को मार्न नसकेकाले यस क्षेत्रको विकासका लागि पहल गरिएको बताए।

अध्यक्ष तिमिल्सिनाले मन्दिर र गढी एवं गुम्बा क्षेत्रमा सरसफाइका साथै बिजुली, इन्टरनेटजस्ता सुविधा निर्माणका काम थालिएको र आउँदो शिवरात्रिका अवसरमा टेन्टहरुको व्यवस्थापनसहित भव्यतापूर्वक मनाउन स्थानीयबासीलाई परिचालन गरिएको जानकारी दिए। उनले प्रदेश सरकारले यस क्षेत्रको विकासका लागि गुरुयोजना माग गरेकाले त्यसको तयारीमा रहेको जनाउँदै  वन कार्यालयका नाममा रहेका उक्त क्षेत्रको जग्गालाई मन्दिरका नाममा ल्याउने योजना रहेको सुनाए।

नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न संघीय सरकारबाट ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठनको प्रयास पनि भइरहेको छ।

ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विकास समिति ऐन, २०१३ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेको छ।

केन्द्र सरकारबाट गठन हुने समितिले विदुर नगरपालिका-२ स्थित नुवाकोट दरबार क्षेत्र, भैरवी मन्दिर परिसर, शाहको समाधिस्थल विदुर-५ देवीघाट, बेलकोटगढी नगरपालिका-१, २, ३, ४, ९ र ११ मा पर्ने चिम्टेश्वर क्षेत्र तथा नुवाकोटका नौमध्ये छ कोट-प्यासकोट, कालीकोट, सिमलकोट, भैरुमकोट, मालकोट र बेलकोट क्षेत्रको संरक्षण तथा संवर्द्धन  गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने जिम्मेवारी पाउनेछ।

उक्त क्षेत्रको पूर्वमा नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिका, पश्चिममा तारकेश्वर र म्यागङ गाउँपालिका, उत्तरमा रसुवाको उत्तरगया गाउँपालिका, दक्षिणमा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिका पर्दछन्। रासस

प्रकाशित: Feb 22, 2024| 05:31 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्