काठमाडौं- पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रा चोकमा रा.५ प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पा त्रीबेणी गाउँपालिका-५ बस्ने २१ वर्षीय बिबेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय नेत्र भण्डारी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ बेलाहानीस्थित सडकमा लु.३६ प ५४९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ मोहन डाँडा बस्ने २१ वर्षीय पदम बहादुर बयम्बुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ धापाखेलस्थित सडकमा बा.९५ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका-१ गोदाम चौर बस्ने १८ वर्षीय सम्पुर्ण रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ, बुढिगंगा गाउँपालिका-१ स्थित सडकमा प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका-१ बस्ने २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.६ ख ३३५२ नम्बरको ट्रक र बा.प्र.०१-०२६ च १३३४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा बोलेरो चालक हाल नाम, थर, वतन नखुलेका पुरूष र भारत बिहार राज्य मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ३ जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।