बुधबार, चैत २५, २०८२

हराउँदै ढिकीमा धान कुट्ने चलन

पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे। हाल ती ढिकीहरू हराउँदै गएका छन्।
 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

कञ्चनपुर- धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान ढिकीमा कुट्न छाडेका छन्। गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन्। पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे।

National life

हाल ती ढिकीहरू हराउँदै गएका छन्। अर्काे तर्फ ग्रामीण क्षेत्रमा ढिकी राख्ने कार्य नै छाडिएका छन् भने थारू समुदायका केहीका घरमा अझै ढिकी भए पनि धान कुट्नका लागि मिलमा पुग्ने गर्दछन्। एक दशकअघिदेखि ढिकी कुट्ने चलन बिस्तारै हराउँदै जान थालेको शुक्लाफाँटा नगरपालिका-२ का हेमराज पाण्डेयले बताए।

'धानमिलमा कुटिएको चामलभन्दा ढिकीमा कुटिएको धानको चामल निकै मिठो र पौष्टिक हुने गरेको थियो', उनले भने, 'ढिकीमा धान कुट्दा निकै समय लाग्ने र श्रम गर्नुपर्ने अवस्था थियो, अहिले सहजै एकछिमै मिलमा धान कुट्ने कार्य हुने भएकाले ढिकी राख्ने चलन हटेको छ।'

कृष्णपुर नगरपालिका-२ वाणिकी वसन्ती राना बिहानीको कुखुराको डाँकमै ब्यूँझेर धान कुट्ने पुराना दिनको स्मरण गर्छिन्। 'बिहानै ब्यूँझेर धान कुट्थ्यौँ', उनले भनिन्, 'धान कुटेर आएका चामल माटोको भकारीमा राख्ने गरिन्थ्यो, ती चामलबाट बनाइएको भात निकै मिठो हुन्थ्यो, अहिले मिलमा कुटेका चामल देख्नमा चम्किला हुने भए पनि त्यति स्वादिलो हुने गरेको छैन।'

महिलाहरूलाई त्यसबेला ढिकी कुट्न निकै परिश्रम गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरिन्। दिनभरि घरको काम, राति पूरै निद्रा नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको पवित्रा चौधरीले बताइन्।

kumari

'ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो', उनले भनिन्, 'दसैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनुपर्दथ्यो, त्यसबेला थोरै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो, त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ।'

'चाडपर्व, विवाहलगायतका धार्मिक तथा अन्य अनुष्ठानमा सहभागी हुनेहरूका लागि भने चार-पाँच दिनदेखि नै ढिकीमा धान कुट्नुपर्ने बाध्यता नै हुन्थ्यो', गीता चौधरीले भनिन्, 'हाल पहिलेको तुलनामा महिलालाई घरायसी कार्य गर्न आधुनिक विद्युतीय मिलले सहज बनाइदिएको छ, पुर्खौँदेखि प्रयोग हुँदै आएका ढिकी, कोल्हु, जाँतो (चकिया)लगायत हराउँदै गएकामा चिन्तित पनि छु।'

पहिचान झल्काउने पुराना वस्तुलाई पछिको पिँढीलाई चिनाउनकै लागि पनि जगेर्ना गरेर राख्नुपर्ने उनको भनाइ छ। ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको दानसिंह दहितले बताए। बलियो काठ सान्नानलगायतबाट ढिकी तयार गरिन्थ्यो। रासस

प्रकाशित: Feb 20, 2024| 19:01 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्