शनिबार, भदौ १३, २०८३

कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

काठमाडौं- ईपीएस कोरिया शाखाले शुरू गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ। सोमबार पहिलो चरणअन्तर्गत शुरू भएको उक्त परीक्षामा ४७ हजार ५१९ जना सहभागी हुने र आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्।

उनका अनुसार दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ। यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि शुरू भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ।

सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरू भइरहेको र उक्त परीक्षाका लागि एक दिनमा पाँचवटा सिफ्ट तयार गरी दिनमा एक हजार जनाले परीक्षा दिन थालेको ईपीएस कोरिया शाखाका निर्देशक कँडेलले बताइन्।

‘पहिलो सिफ्टमा करिब ४७ हजार ५१९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौँ, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ,’ उनले भनिन्।

परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताको लागि उपस्थित भई परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए।

परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श शुरू हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन्। उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ।

यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ।

प्रकाशित: Feb 20, 2024| 14:41 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्