शनिबार, भदौ १३, २०८३

वन्यजन्तु बस्ती पस्न थालेपछि बेलौरी र पुनर्वासमा त्रास

 |  सोमबार, फागुन ७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ७, २०८०

बेदकोट- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन्। केही सातायतादेखि बस्तीमा चितुवा र जंगली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन्। 

बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका-८ पचुइँका मनोज चन्दले बताए। 'चितुवाले तीनवटा कुकुर खाएको छ। चितुवा देखिएपछि गाउँभर त्रास छ', उनले भने, 'बेलुकातिर घरबाहिर निस्कनै सकिँदैन। कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ।'

चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन्। घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उनको भनाइ छ।

केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहेका बेलडाँडी गाउँपालिका-३ खैरीघाटका जीवन चन्द आक्रमणमा परेका थिए। 'चितुवा हो वा बाघ चिन्न सकिन। हेर्दा ठूलै थियो। एक्कासी हातमा झम्टेर सडकको पारीपट्टी झर्‍यो', उनले भने, 'म मोटरसाइकलबाट लडेँ। फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ।'

उनको हातमा पञ्जाले तिथोरेको घाउ लागेको छ। कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उनी शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्छन्। सो घटनापछि खप्टिनालाको बाटो भएर हिँड्डुल गर्न डर लागेको उनले बताए।

खप्टिनाला क्षेत्रमै गत बैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो। त्यसपछि उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ। सब-डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जंगली हात्तीको बथान बस्तीमा देखिएको छ। पुनर्वास नगरपालिका-१० पचकडिया विकास बस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो। 

पुनर्वास-१० मै चितुवा पनि देखा परेको उनको भनाइ छ। 'हात्ती र चितुवा देखापरेपछि स्थानीयवासी त्रसित छन्। पुनर्वासमा १३-१४ को सङ्ख्याको हात्तीको बथानले खेती क्षति पुर्‍याएको छ,' उनले भने, 'बेलौरी र पुनर्वासमा चितुवा पनि देखिएको छ।' उनका अनुसार पुनर्वास-१० दोदा नदीको पुल र बेलौरीको भुडामा चितुवा देखिएको यकिन भएको छ। रासस

प्रकाशित: Feb 19, 2024| 20:01 सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्