काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाको राजिनामा मागसँगै नेप्से बजार दोहोरो अंकले बढेको छ।
यस साताको नेप्से कारोबारको पहिलो दिन आइतबार नेप्से १०.८५ अंकले बढेर एक हजार १३१.७० बिन्दुमा पुगेको छ। ‘क’ वर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.६८ अंक बढेर २४१.०२ बिन्दुमा पुगेको छ।
आइतबार शेयर बजारमा आएका ११ समूहमध्ये अधिकांशको परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक ३९.८९ अंक बढेको छ।
त्यसपछि बैंकिङ समूहको परिसूचक १३.५१, विकास बैंक समूहको परिसूचक १२.०९, ब्यापार समूहको परिसूचक २.२, होटेल समूहको परिसूचक ८.९५, हाइड्रोपार समूहको परिसूचक ११.१ अंक बढेको छ।
अन्य समूहको परिसूचक, माइक्रोफाइनान्स समूहको परिसूचक र लाईफ इन्स्योरेन्स समूहको परिसूचक क्रमशः ४.१२, ४.९६ र ६.६४ अंक बढेको छ। यसैबीच फाइनान्स समूह र उत्पादनमुलक समूहको परिसूचकहरु भने ०.२४ र १०.०३ अंक घटेको छ।
शेयर बजार सुधार बाधक भएको भन्दै लगानीकर्ताहरुको एक समूहले अर्थमन्त्री डा युवराज खतिवडाको राजिनामा माग गर्दै अनसन बसेका छन्। अनसन नेपाल स्टक एक्स्चेन्जको कार्यालय अघि बसेका हुन्।
शेयर लगानीकर्ता दबाब समुहका संयोजक हरि ढकालले अनसन बिहान दश बजेदेखि साँझ ५ बजेसम्म बस्ने कार्यक्रम रहेको जानकारी गराएका छन्। उनीहरुले अर्थमन्त्री खतिवडाले बजार सुधारको लागि उच्चस्तरीय समिति बनाए पनि त्यसले हालसम्म केही काम काट्न नसकेकोलगायत आरोप लगाएका छन्।
त्यसैगरी राष्ट्रिय जनता पार्टीले आइतबार विज्ञप्ती जारी गर्दै देशको द्रुत आर्थिक विकासको मेरुदन्ड मानिएको पूँजी बजारमा सरकारको गलत नीति र निर्णयका कारण सर्वसाधारण लगानीकर्ताको खरबौं रकम गुम्न गइ पूँजी बजार विचलित भएको आरोप लगाएको छ।
यस्ता छन्, अनसनकारीका माग
बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्याउनुपर्ने
गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने
शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने
शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पुर्याउनुपर्ने
कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्ने
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४