शनिबार, भदौ १३, २०८३

सहकारी पीडितको आन्दोलनमा पूर्वआईजीपी खनालको साथ

 |  सोमबार, फागुन ७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ७, २०८०

काठमाडौं- विभिन्न सहकारीबाट ठगिएका पीडितले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। उनीहरुले आइतबार नयाँ बानेश्वरस्थित सहकारी विभागमा धर्ना दिए।

सहकारी पीडितको आन्दोलनमा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले पनि साथ दिएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको धर्नामा आइतबार खनाल पनि सहभागी भएका थिए। खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरूले पीडित बनाएको बताए।

सहकारी पीडितको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भए पनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ। सहकारी ठगहरूले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको उनले बताए। सरकारमा रहेकाहरूले नै सहकारीका ठगहरूसँग साँठगाँठ गरेको उनको आरोप छ।

धर्ना चैत १ गतेसम्म चल्ने र त्यतिबेलासम्म पनि माग पूरा नभए देशभरका सहकारी पीडित काठमाडौंमा जम्मा भएर बृहत् आन्दोलन सुरु गर्ने र काठमाडौं ठप्प पार्ने अभियानले बताएको छ।

सहकारी विभागमा धर्नासँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्येक गल्ली–गल्लीमा कोणसभा र घरदैलो कार्यक्रम गर्ने योजना छ। सहकारीका माफियाहरूलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन सुरु भएको हो। अभियानमा २ सय ८२ सहकारीका पीडितहरूले ऐक्यवद्धता जनाएका छन्।

सहकारी पीडितहरूले बचत तथा कर्जा सुरक्षण कोष स्थापना हुनुपर्ने, ५० करोडभन्दा धेरै कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकबाट हुनुपर्ने, सहकारी दर्ता, कार्य क्षेत्र तथा सेवा केन्द्र विस्तारमा एक वर्षसम्म रोक लगाउनुपर्ने लगायत माग राखेर विभिन्न कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित: Feb 19, 2024| 12:41 सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्