बुधबार, चैत २५, २०८२

कसले संरक्षण गर्ने चौबिसेका ताल ?

 |  सोमबार, फागुन ७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ७, २०८०

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन्। धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।

National life

संरक्षण अभावमा पालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित राजारानी बजारमा रहेको राजा र रानी तालमध्ये राजातालको पाँच सय रोपनीभन्दा बढी क्षेत्रफल दलदलमा सीमित रहेको छ। तालको रानीताल क्षेत्र २०६३ सालबाट एक सय ५० रोपनीमा संरक्षण गरिए पनि सँगै जोडिएको राजाताल भने जग्गादाताले सहकार्य नगर्दा संरक्षण गर्न नसकिएको मावरक रानीताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले जानकारी दिए।

पैसठ्ठी घरधुरीको जमिनलाई सहकारीमा कायम गरेर संरक्षण थालिएको रानीताल क्षेत्रको बृहत् विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० गरिसकेको छ। तर सँगैको राजातालको जमिन जग्गादातासँगको सहकार्य नमिलेका कारण ताल निर्माण गर्न नसकिएको चौबिसे पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका चेम्जोङले जानकारी दिए।

त्यस्तै गाउँपालिकाको वडा नं २ को शौरेबजारसँगै रहेको धप्पड तालसँगै रहेको टिठुङ ताल पनि संरक्षणको पर्खाइमा रहेको छ। गाउँपालिकाले गत वर्षबाट रु चार करोडको लागतमा ५२ रोपनीमा फैलिएको धप्पडताल संरक्षणको काम सुरु गरेको छ। तर सँगै रहेको टिठुङताल बजेटको अभाव हुँदा संरक्षण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए।

त्यस्तै पालिकाको वडा नं १ सानो मुक्तरामा रहेको काङ्गडातालको पनि पूर्णरूपमा संरक्षण हुन नसकेको पूर्ववडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। व्यक्तिको नाममा रहेको करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको यो तालको दुई वर्षअघिबाट संरक्षण थालिए पनि बजेट अभावमा यसको पूर्णरूपमा प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ।

kumari

पालिकाको वडा नं १ को स्याङ्दन गाउँमा दुई सय रोपनीमा फैलिएको रानीपोखरी ताल अलपत्र अवस्थामा रहेको छ। व्यक्तिको नाममा रहेको यो पोखरी आंशिकमात्र खेतीपाती गरिएकाले अधिकांश तालक्षेत्र दलदल र सिमसार रहेको छ। यस क्षेत्रका अधिकांश जग्गाधनी तराईमा रहेकाले आफ्नो कार्यकालमा गरेको पहल पूरा हुन नसकेको पूर्वगाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिए।

तालको संरक्षण गर्न व्यक्तिका जमिनलाई सहकारीमा लाने प्रक्रियाको सुरु गरिसकिएकाले ताल निर्माणको काम अब अघि बढ्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए। त्यस्तै पालिकाको वडा नं १ स्थित छ नम्बर बुधबारे बजार नजिक पूर्वमा करिब ४० रोपनीमा रहेको गडेरेताल पनि संरक्षण अभावमा दलदलमा सीमित छ। व्यक्तिको नाममा रहेको यो तालको संरक्षणका लागि गाउँवासीले केही वर्षअघि जमिन दिने निर्णय गरे पनि तालबाट आउने आम्दानीका विषयमा पालिकासँग कुरा नमिल्दा ताल बन्न नसकेको वडाध्यक्ष देवेन्द्र क्षेष्ठले जानकारी दिए।

हाल उक्त स्थान र रानीपोखरी तालमा कृषि मन्त्रालयबाट माछापालनका लागि सर्वेक्षण भइरहेको उनले जानकारी दिए। “पानी र जमिन त्यसै खेर जान दिनुभन्दा हामी पर्यटनको विकल्पमा माछापालन गर्ने कि भन्ने सोचमा छौँ”, अध्यक्ष श्रेष्ठले भने।

यी ताल निर्माणाधीन एक सय किलोमिटर भेडेटार–रवि–राँके राजमार्गको पहुँचमा रहेकाले यहाँका तालको संरक्षण र प्रवर्द्धन गर्नसके यस पालिका क्षेत्रलाई तालैतालको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ। गएको पाँच वर्षमा यसको प्रवर्द्धन गर्न खोजिए पनि पर्याप्त बजेट अभावमा तालहरूको संरक्षणका लागि व्यक्तिसँग समन्वयन गर्न कठिन हुँदा ताल संरक्षणको काम अधुरै रहेको पालिका पूर्व अध्यक्ष खजिन्द्र राईले जानकारी दिए।

यसका लागि पालिकाले सबै ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू र पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमारले जानकारी दिए।

प्रकाशित: Feb 19, 2024| 07:15 सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्