बुधबार, चैत २५, २०८२

चितवनका कृषकले सडकमै दूध पोखेपछि...

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

चितवनका कृषकले सडकमै दूध पोखेका छन्। दुग्ध उत्पादक सहकारीका किसानले भरतपुरको केन्द्रीय बस टर्मिनल चोकस्थित सडकमा आइतबार दूध पोखेर विरोध प्रदर्शन गरेका हुन्।

National life

लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन्।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका थिए। उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन्। त्यसपछि किसानहरु फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोकमा पुगेर दूध पोखेका हुन्।

पछिल्ला महिनामा दूध बिक्री हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको किसानको भनाइ छ। दूध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि किसान समस्यामा परेका छन्। किसानलाई बैंकको ब्याज तिर्न र गाईभैंसीको दाना–चोकर खुवाउन समेत कठिनाइ हुन थालेको छ।

गत साउन महिनादेखि यहाँका किसानहरुले दूध बिक्री गरेको करिब ५२ करोड रकम भुक्तानी पाएका छैनन्। दूग्ध विकास संस्थान र निजी डेरीहरुले चितवनबाट दूध लगेर बेचे पनि रकम भने किसानलाई दिएका छैनन्।

kumari

चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूधले बजार पाएको छैन। चितवनका किसानले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संघीय र प्रदेशका कृषिमन्त्रीहरूलाई दूधको समस्या धेरैपटक राखे पनि हालसम्म समस्याको समाधान पाएका छैनन्।

उद्योग तथा डेरीहरुले पहिले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए। तर अहिले लामो समयदेखि रकम भुक्तानी पाएका छैनन्।

प्रकाशित: Feb 18, 2024| 18:31 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्