बुधबार, चैत २५, २०८२

खोटाङमा ठगीका आरोपितलाई पक्राउ गर्दै प्रहरी

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

खोटाङ- जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ। विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो।

National life

बैकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान सुरु गरिएको महिनादिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले  जानकारी दिएका छन्। “पीडितले दिएको जाहेरीको आधारमा  आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ।

उनीहरुले पीडितबाट रु एक लाख २५ हजारदेखि रु ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ”, उनले भने, “पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा÷ब्याज फिर्ता गरेका छन्। फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ।”

गत पुस १७ गतेदेखि माघ मसान्तसम्ममा विभिन्न ठाउँबाट पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको जनाइएको छ। पक्राउ पर्नेमा बैङ्किङ कसूरसम्बन्धी ठगीको आरोपमा छ जना र वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा एकजना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए।

बैंकिङ कसूरसम्बन्धी ललितपुर महानगरपालिका–१४ थसिखेल निवासी सुनिता खड्कालाई गत पुस १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको रु ३५ लाख २५ हजार रकम विभिन्न बहानामा ठगी गरेको पाइएको छ। 

kumari

खड्काले आफूले लिएको रकम फिर्ता गर्न तथा धरौटी रकम बुझाउन नसकेपछि माघ–३ गते पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ। सस्तोमा घडेरी दिलाइदिन्छु भन्दै ठगी गर्ने खड्कालाई अदालतले रु दश लाख धरौटी तोकेको छ। 

यस्तै, युवराज बस्नेतको जाहेरीले गत माघ–९ गते काठमाडौँ महानगरपालिका–७ काठमाडौँबाट पक्राउ परेका कल्याण खत्रीलाई बैङ्किङ कसूरसम्बन्धीकै अर्को मुद्दामा बिहीबार गौशाला पठाइएको प्रनाउ खड्काले जानकारी दिएका छन्। आरोपित कल्याणले बस्नेतको रु चार लाख २० हजार रकम लिएर फिर्ता नगरेको जनाइएको छ। 

बस्नेतकै जाहेरीको आधारमा कल्याणका बुबा मोहनकुमार खत्रीलाईसमेत प्रहरीले पक्राउ गरेको छ। गत माघ ११ गते नवलपारासीको सुनवल नगरपालिका–१२ भूमहीबाट पक्राउ परेका मोहनकुमारले समय समयमा विभिन्न व्यक्तिबाट रु तीन करोड ४० लाख रकम लिएर फिर्ता नगरेको जनाइएको छ। 

दिक्तेलस्थित प्रहरी हिरासतमा रहेका मोहनकुमारलाई जिल्ला अदालत खोटाङको प्रक्रिया पूरा गरेर झापाको बिर्तामोड पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। मोहनकुमारविरुद्ध विर्तामोडबाट ठगी मुद्दासम्बन्धी नै पक्राउ पुर्जी आएको जनाइएको छ।

पक्राउ परेकामध्ये मोरङको बेलबारी नगरपालिका–१ बेलबारीका सुवास न्यौपाने र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ छोरम्बुस्थित याङ्सोलाका चण्डीकुमार राईले रकम फिर्ता गरेको प्रनाउ खड्काले जानकारी दिए। खगेन्द्र राईको जाहेरीले गत पुस १९ गते पक्राउ परेका न्यौपानेले रु १५ लाख तथा समिर राईको जाहेरीले माघ १६ गते पक्राउ परेका चण्डीकुमारले रु एक लाख २५ हजार रकम फिर्ता गरेका हुन्। 

यस्तै, युवराज आचार्यको जाहेरीले गत माघ २७ गते पक्राउ परेका सिन्धुली जिल्लाको दूधौली नगरपालिका–११ राजावास बस्ने उपेन्द्र साह सुरीले रु दुई लाख ३४ हजार पाँच सय ५० ठगी गरेको जनाइएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित तालखर्क घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका प्रेम पुरी पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ईन्द्रबहादुर खड्का ‘माइकल’ सहित छ जनाको जाहेरीमा गत माघ २१ गते पक्राउ परेका पुरीले रु आठ लाख ९५ हजार ठगी गरेको आरोप छ। 

विभिन्न समयमा विदेश पठाइदिन्छु भन्दै धरौटीबापत लिएको रकम फिर्ता नगरेपछि कारबाहीको लागि प्रहरीमा उजुरी दिएको माइकलले बताएका छन्। पक्राउ परेका पुरीलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना बढिरहेको पाइएको छ। विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगी वापतको रकम फिर्ता गराउन समस्या हुने गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोषकुमार राईले जानकारी दिएका छन्।

यसैबिच, फरार प्रतिवादी पक्राउ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ। अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिएका  छन्।

प्रकाशित: Feb 18, 2024| 18:19 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्