काठमाडौं- आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बर्खास्ती माग गरेका छन्। मन्त्री ज्वाला बालकुमारी घटनामा दोषी ठहर भएको भन्दै दलहरुले बर्खास्तीको माग गरेका हुन्।
बैठक सुरु भएसँगै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर आकस्मिक समयको माग गरेका थिए। सभामुख देवराज घिमिरेले समय उपलब्ध गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी भएको जनाउँदै उनलाई पदमा बस्ने नैतिकता नभएको उल्लेख गरे।
सरकार आफैंले बनाएको छानबिन समितिले यही फागुन ४ गते बुझाएको प्रतिवेदनमा घटनाको दोषी मन्त्री ज्वाला भएको देखाएको उनले जनाए। सरकार आफैंले बनाएको समितिले दिएको प्रतिवेदन लागु गर्ने कि नगर्ने भन्दै उनले प्रश्न गरे। उनले भने, 'सरकार आफैंले बनाएको छानबिन समितिले मन्त्री ज्वालालाई दोषी ठहर गरेको छ। तर, यत्रो दिन बित्दा प्रमले मन्त्री बर्खास्त गरेको सूचना पाएनौं। सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले छानबिन समतिले मन्त्री ज्वालालाई दोषी भनेर किटान गर्दा पनि प्रधानमन्त्री चुइँक्क बोल्न नसकेको बताए। उनले पनि मन्त्री ज्वालाको राजीनामा माग गर्दै नैतिकता देखाउन सरकारसँग अनुरोध गरे।
उनले भने, 'बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भन्ने युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो। यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिँदै आएको थियो। अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ। यसबारे न प्रधानमन्त्री चुइँक्क बोल्नुहुन्छ न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ '
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले पनि मन्त्री ज्वालाको बर्खास्तीको माग गरे। उनले देशमा न्याय मरेको छैन भन्ने सन्देश दिने हो भने मन्त्रीलाई तत्काल कारबाही गर्नुपर्ने धारणा राखे।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने बताए। प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन अहिलेसम्म आफूले अध्ययन नगरेको उल्लेख गर्दै आज गृह मन्त्रालयले बुझाएपछि थप प्रक्रिया अगाडि बढ्ने बताए।
उनले भने, ‘१० लाख दिएर सरकार चुप लागेर बसेको कुरा तथ्यहीन हो। छानबिन समिति सरकारले नै बनाएको हो। प्रतिपक्षले त बनाएको होइन। छानबिन प्रतिवेदन गृह मन्त्रालयबाट आज मैले बुझ्दैछु। मैले आजै हेर्दैछु। आज क्याबिनेट छ। प्रतिवेदनको अध्यययन गरेपछि आवश्यक कारबाही गरिन्छ।’
सरकारले घटनालाई गम्भीर र विशेष रुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए। उनले भने, ‘त्यो घटना विशेष भएकै कारण हामीले परिवारका सदस्यलाई राहत स्वरुप लिएको हो। रोजगारीका लागि विदेश जानका लागि हत्या भएको घटनालाई गम्भीर रुपमा लिएर परिवारका एक एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको छ।’
गएको पुस १३ गते ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा प्रदर्शन गरिएको थियो। मन्त्री ज्वाला अचानक प्रदर्शन भइरहेको स्थानमा पुगेका थिए।
मन्त्री ज्वाला प्रदर्शनस्थलमा पुगेपछि उनी चढेको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका थिए। मन्त्री ज्वाला बालकुमारी पुगेपछि प्रदर्शन थप भड्किएको थियो। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो र प्रदर्शनकारीमाथि गोली समेत चलाएको थियो।
गोली लागेर र प्रहरीको कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। त्यसपछि पुस १६ गतेको मन्त्रिपरिषद् बैठकबाट घटनाबारे जाँचबुझ गरी राय–सुझाव र सिफारिससहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने गरी जाँचबुझ आयोग गठन गरिएको थियो।