आइतबार, कात्तिक १, २०८३

सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०

पोखरा- साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ। सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो। 

उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ। 

सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे। 

लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशन भएको थियो। बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफु आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए। बालबालिकाकको साहित्यमा अभिरुची हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ। 

‘आफैंलाई बालक उमेरदेखि नै  बाल साहित्यमा अभिरुची हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो। त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने। 

उनले प्रत्येक दिन जसो राती सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे। ‘आफुले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भहरु जोडेर तत्काल कथाहरु सिर्जना गरेर नातिलाई सुनाउथें। नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो। पछि यी कथाहरु मैले कति पटक दोहो¥याएर नातिलाई सुनाए  कि मलाई कण्ठस्थ भो’, उनले भने, ‘एक दिन मैले के सोचे भने यी कथाहरुलाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरे अरु नातिनातिनाहरुका लागि पनि उपयुक्त हुन्छ होला भन्ने हो। ती कथाहरुमध्यबाट केही छानेर यो पुस्तक जन्मेको छ।’

उनले धेरैजसो साहत्यिकारले बाल  साहित्यलाई अपहेलना गरेको सुनाए। बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ।  
बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुची अनुसारको विषयबस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन्। ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तक भन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन्। उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन्।

साहित्यकार ध्रुब घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु काम भएको उनले बताए। बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन्। ‘अहिले जमाना मास मिडियाको हो। मास मिडियामा विभिन्न किसिमका  खबरहरु पुग्ने क्रममा बाल साहित्यको खबर पु¥याउन प्रयोग हुनुपर्ने’, उनले भने, ‘एउटा फेसबुक पेजबाट पनि सूचनाहरु प्रकाशन गर्न सक्छौं अथवा एफएमहरु। यत्तिका एफएमहरु छन केहीले मात्रै बालबालिकाको कार्यक्रमहरु सञ्चालन गरेका छन्। टेलिभिजनको कुरा गर्दा पनि बाल कार्यक्रम कम भएका छन्।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन्। उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ।  यस अगाडि सरुभक्तले बाल साहित्यका पुस्तक बजारमा ल्याएका थिए।

परिचय प्रकाशनले यस लगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ। नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरुलाई प्राथमिकता दिएको छ।

प्रकाशित: Feb 17, 2024| 18:32 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्