आइतबार, साउन १०, २०८३

दुलही झैं जानकी मन्दिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र जगज्जननी सीताको विवाह भएको स्मरणमा मनाइने विवाह पञ्चमीलाई मध्यनजर गरी जनकपुरस्थित जानकी मन्दिर बेहुली झैँ सजाइएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मुख्य समारोह विवाहोत्स मनाउने गरिएको अवसरलाई लक्षित गर्दै जानकी मन्दिरलाई बेहुली झैँ सजाइएको हो । 

विवाहोत्सवमा प्रमुख आकर्षणका केन्द्र जानकी मन्दिरलाई रंगीचंगी बल्बहरुले सजाइएकोले अहिले मन्दिर भवन र परिसर झकमक बनेको छ । जानकी मन्दिर भवन सजाउन झण्डै ८ लाख मूल्य बराबरको फूलमात्रै भारतको कोलकत्ताबाट आयात गरिएको छ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित पाँच सयको संख्यामा विशिष्ट अतिथिहरु आउने भएकाले विगतको भन्दा यस वर्ष सर–सजावटजस्ता कार्यलाई विशेष ध्यान दिइएको छ ।

भारत कोलकत्ताबाट आयात गरिएको विभिन्न खाले फूलहरु अग्ला भित्ताहरुमा झुण्डाइएपछि जानकी मन्दिर अहिले थप आकर्षक बनेको छ । यसका साथै साँझको समयमा रंगीचंगी बत्तिहरुले झिलिमिली बनाएकोछ, जानकी मन्दिरलाई ।

विवाहोत्सवलाई ध्यानमा राख्दै हरेकदिन साँझ जानकी मन्दिरमा भइरहेको धार्मिक प्रवचन र झाँकीको आनन्द लिन सयौको संख्यामा सर्वसाधारणहरु पुग्ने गरेका छन् । २६ मंसिरमा हुने विवाहोत्सवको  मेला भर्न नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट श्रद्धालुहरु जनकपुर पुग्ने क्रम सुरु भइसकेको छ । 

सप्ताहव्यापी कार्यक्रम गरी मनाइने रामजानकी विवाहोत्सव शुक्रबारबाट सुरु भइसकेको छ । मिथिला परम्परा अनुसार विभिन्न प्रकारका विधि पुरागर्न सात दिन लाग्ने गरेकोले रामजानकी विवाहोत्सव पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाइने गरिन्छ ।

पौराणिक परम्परा अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ । यसैगरी तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर, छैठौ दिन विवाहोत्स र सातौँदिन रामकलेवा मनाइने गरिन्छ ।

रामायणमा उल्लेख गरिए अनुसार विवाहोत्सवका लागि मनाइने विभिन्न धार्मिक कार्यक्रम हेर्न साँझ जानकी मन्दिरमा अहिलेदेखि घुँइचो लाग्न थालेको जानकी मन्दरिका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । 

भारतको अयोध्यबाट भगवान राम विवाह गर्न जनकपुर पुग्दा गरिएका सम्पूर्ण विधिहरु अनुसार विवाहोत्सव मनाइने गरिएको दासले जानकारी दिए । दासका अनुसार अन्य वर्षझैँ यस वर्ष पनि भव्यताका साथ रामजानकी विवाहोत्सव मनाउने सम्पूर्ण तयारी पुरा भइसकेको छ । 

विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट साधुसन्त तथा तिर्थालुहरु आउने क्रम सुरु भइसकेको उनले बताए । विवाहोत्सवमा सरिक हुन साधुसन्तका रुपमा आउने पाहुनाहरुको खानपान तथा वासका लागि जानकी मन्दिर र राममन्दिरले व्यवस्था मिलाएको छ । 

रामजानकी विवाहोत्सवमा भारतको अयोध्याका साथै विभिन्न स्थानहरुबाट साधुसन्तहरु जन्तीको रुपमा आउने गरेका छन् । अतिथिलाई स्वागत गर्ने मिथिलाको परम्परा रहेको भन्दै जन्ती स्वागतका लागि भव्य तयारी गरिएको दासको भनाई छ । 

यसैबीच लाखौको सहभागिता हुने गरेको विवाहपञ्चमी मेलालाई व्यस्थित तुल्याउन स्थानीय प्रशासन सक्रिय भएको छ । विवाहपञ्चमी मेलालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जनाए । 

शाहीका अनुसार विवाहोत्सवको अवसर पारेर यहाँ आउने तिर्थालुहरुको सुरक्षा र कुनैपनि उत्छृंखल गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइएको छ । विवाहपञ्चमीलाई व्यवस्थित रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालयले स्थानीय युवा क्लब, नागरिक समाज तथा सञ्चारकर्मीहरुसँग छलफल गरी सुझाव समेत लिएको छ । 

प्राप्त सुझावको आधारमा जनकपुर नगर क्षेत्र भित्र विवाहपञ्मीलाई मध्यनजर गरी २३ मंसिरदेखि २७ मंसिरसम्म मांस मदिरा विक्री वितरणमा रोक लागाइएको उनले जानकारी दिएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।