सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।
बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ऋण दिएको पाइएको छ।
अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन्।
यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन्। उनी २०७८ सालसम्म अध्यक्ष थिए। रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए।
संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन्। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको पाइएको छ।