बुधबार, चैत २५, २०८२

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

 |  शुक्रबार, फागुन ४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

बागलुङ- विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ। लगातार काम भएको भए तीन वर्षमा घर-घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुंगो लागेको छैन।

National life

बागलुङ नगरपालिका-८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष हुँदासमेत खानेपानीको पहुँच पुग्न सकेको छैन। 

गण्डकी प्रदेश सरकारले सबै नागरिकको घरमा खानेपानीको धारा पुर्‍याउने लक्ष्यका साथ लिफ्टमार्फत काठेखोला गाउँपालिकाको पानी लामिचौर पुर्‍याएर वितरण गर्ने योजना बनाए पनि बजेट अभावमा उक्त आयोजनाको २५ प्रतिशत मात्रै काम भएको पाइएको छ। 

अहिले आयोजनाका रिजर्भ ट्याङ्की अलपत्रजस्तै देखिएका छन्। दुई सय घरपरिवार रहेको एउटै गाउँमा खानेपानीको चरम समस्या समाधानका लागि रु चार करोड ९३ लाखमा डिपिआर गरेर उक्त लिफ्ट आयोजना निर्माण गर्न २०७७ साल माघमा सुरु गरिएको भए पनि गत वर्षदेखि उक्त काम बजेट अभावका कारण रोकिएको छ। 

देशमा संघीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले आठ वर्ष बित्दासमेत खानेपानी पाउन सकेको छैन। योजनामा बजेट नआउँदा आयोजना सम्पन्नताको टुंगो नलागेको स्थानीयको भनाइ छ। 

kumari

नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्तीमा निर्माण भइरहेको लिफ्ट खानेपानी आयोजना बजेट अभावमा थलिएको हो। 

चार करोडमाथिको लिफ्ट खानेपानी आयोजनाको लागि वर्षमा १० लाखका दरले बजेट आउँदा काम गर्न समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी सञ्जय कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार हालसम्म उक्त खानेपानी योजनामा जम्मा ५३ लाख ८४ हजार बजेट खर्च भएको छ।

'प्रदेश सरकारले बजेट थोरै पठाउँदा समस्या भयो, आयोजना सम्पन्न गर्न धेरै वर्ष लाग्ने देखिएको छ, गत वर्षदेखि आयोजनामा काम ठप्प छ, गत वर्षको कामको रकम बल्ल यस वर्ष भुक्तानी गर्न थालिएको छ, यस वर्षका लागि विनियोजन भएको १० लाख बजेट गत वर्षको रकम भुक्तानीमै ठिक्क हुने भएपछि यस वर्ष काम गर्न नसक्ने अवस्था छ', उनले भने, 'मुख्य समस्या बजेटको हो, बहुवर्षे आयोजना भए पनि बजेट १० लाख मात्रै विनियोजन भएको छ, यो अवस्थामै आयोजना जाने हो भने आयोजना सम्पन्न हुँन १० वर्ष लाग्न सक्छ।'

कोइरालाका अनुसार आयोजनाको काठेखोला-७ खानीदुलोमा ट्याङ्की, विद्युत् घर र बागलुङ-८ लामिचौरमा रिजर्व ट्याङ्की निर्माण भएको छ। 

दुई सय घरमा जम्मा दुई धारामा मुस्किलले खानेपानी आउने गरेको जनाउँदै स्थानीय सुर्यबहादुर विश्वकर्माले अझै कति वर्षसम्म खानेपानीको अभावमा दलित बस्ती बस्नुपर्ने भन्ने प्रश्न सरोकारवालालाई रहेको बताए।

'चिटिक्क मिलेको पुतली बजार गाउँको पीडा अर्कै छ, २० वर्षदेखि खानेपानी समस्यामा तड्पिएका यहाँका जनता अझै कति समय यस्तै अवस्थामा रहने हुन् भन्ने थाहा छैन', विकले भने, 'बल्ल बहुवर्षे योजनामा लिफ्ट आयोजना परे पनि चार वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ, अहिले उक्त आयोजना अलपत्र जस्तै बनेको छ, बजेट नहुँदा गत वर्षदेखि काम हुन सकेको छैन।'

लामिचौर गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा सो आयोजना जीर्ण अवस्थामा छ।

बागलुङ नगरपालिकाका गाउँमा एक-घर एक धारा बनिसक्दा यहाँ भने छनोट भएर काम अघि बढेको आयोजना बजेट अभावमा अलपत्र परेको उनको भनाइ छ। खानेपानीलाई राजनीतिक मुद्दा बनाउँदा दलित बस्तीले वार्षोदेखि यो नियति भोग्दै आएको विकको भनाइ छ। 

काठखोला-७ खानदुलोमा रहेको मुहानबाट लिफ्टमार्फत पानी पुर्याउने गरी आयोजना सुरु भए पनि बजेट अभावमा आयोजना सम्पन्न हुन ढिलाइ भएको लामिचौर दलित बस्ती लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताए। उनले गत वर्षदेखि उक्त आयोजनाको काम ठप्प भएको जनाउँदै काम गरेकै भुक्तानी हालसम्म नपाएको बताए।  

कार्कीले लिफ्ट आयोजनाका लागि खानीदुलो र लामिचौरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको तथा अब मोटर तथा पाइपलाइन र घर-घरमा धारा विस्तारको काम बाँकी रहेको बताए। चार करोड बढीको योजनामा वार्षिक १० लाख बजेट आउँदा उक्त आयोजना सम्पन्न गर्न नसकिने निष्कर्षमा उपभोक्ता समिति पुगेको छ। 

दुई हप्ताअघि मात्रै उक्त लिफ्ट खानेपानीको अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष बजेट थप गरेर पठाउने स्थानीयसित प्रतिबद्धता जनाएका थिए। उनले दलित बस्तीको खानेपानी समस्या अन्य समस्याभन्दा बढी प्राथमिकतामा पारेर बजेट विनियोजन गर्ने बताएका थिए। रासस

प्रकाशित: Feb 16, 2024| 21:31 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्