आइतबार, साउन १०, २०८३

‘पुरुषले प्रस्ताव राख्‍नु महिला हिंसा होइन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा–बाराकी सावित्री सुवेदीलाई २०७० सालअघिसम्म कमैले मात्र चिन्थे । २०७० सालमा कलैयाकी पूजा शाहलाई कन्हैया गुप्ताले बलात्कार गर्दा सुवेदी वीरगन्जको हरिखेतान क्याम्पसमा अध्ययनरत थिइन् । 

छिमेकी बालिकाको बलात्कारपछि मरणासन्न हुने गरी छाडेको थाहा पाएपछि सुवदी वीरगन्जबाट कलैयातफ लागिन् । कलैयामा बलात्कारीलाई कारबाही माग गर्दै आन्दोलन भइरहेको थियो । आन्दोलनमा उनी पनि सहभागी भइन् । करिब तीन हजारभन्दा बढी सहभागी आन्दोलनमा उनले पनि बलात्कारीलाई फाँसी दिनुपर्छ भनेर भाषण गरिन् । 

त्यो भाषणले उनलाई अधिकारकर्मीका रूपमा चिनायो । आन्दोलनको बलमा बालिकालाई बचाउन नसके पनि बलात्कारी गुप्तालाई २८ वर्ष जेल र ८ लाख जरिबाना तिराउन सकेको उनी सम्झिन्छिन् । 

त्यसपछि उनी महिला हिंसाविरुद्धको अभियानमा सक्रिय भइन् । पर्सा र बारामा कतै हिंसा भए उनको खोजी गर्न थालियो । 

२०७५ भदौ २ गते पेटीकोट आन्दोलनबाट चर्चाको शिखरमा पुगेकी अधिकारकर्मी सुवेदी अहिले बलात्कारीलाई फाँसी दिनुपर्दछ भन्ने अभियानमा छन् । देशमा बलात्कारका घटना न्यूनीकरण नहुनुको प्रमुख कारणमध्ये एक राजनीति भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘नेताहरूले चुनावका बेला प्रचारप्रसारमा अपराधी मनोवृत्तिका मान्छे प्रयोग गर्छन् । पछि बलात्कार घटनामा जोडिँदा भएभरको शक्ति प्रयोग गरेर उसलाई जोगाउँछन् । अनि ऊ कसरी डराउँछ त ? नेताहरू आफ्नो भर्‍याङ भाँच्न चाहँदैनन् । त्यसैले अपराधीहरू दिनप्रतिदिन बढिरहेका छन् ।’

सुवेदीले मी टू अभियान पुरुषको चरित्र हत्याका लागि प्रयोग भएको समेत बताएकी छन् । सावित्रीले भनिन्, 'मी टू अभियान समाजका अतिवादी महिलाले चलाएको अभियान हो । हेर्दै जानु यो अभियानले धेरैको भविष्य बरबाद पार्छ । ’

महिलाहरू आफूलाई मन परेको मान्छे र उच्च तहको मान्छेसँग जोडेर जे पनि गर्न पाइन्छ भन्दै मी टू अभियानमा सरिक भएको उनले बताइन् । एउटा परिपक्व पुरुषले अर्को परिपक्व महिलालाई प्रस्ताव राख्नु कुनै गलत नभएका उनको तर्क थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का पूर्वमन्त्री केशव स्थापितमाथि केही महिलाले लगाएको आरोपको पनि कुनै अर्थ नभएको उनको भनाइ थियो । ‘दशकौं पछि कसैको चरित्रहत्या गर्ने ढंगले परिपक्व भएको मान्छेले आरोप लगाउनु चरित्र हत्या गर्ने र चर्चामा आउने काम मात्रै हो’, उनले भनिन् ।

स्वस्थ पुरुषले स्वस्थ महिलासँग ‘तिमी मलाई मन पर्छ’ भन्नु गलत नभएको उनले बताइन् । उनले भनिन्, ‘पुरुषले प्रस्ताव राख्दैमा र माया गर्छु भन्दैमा हिंसा हुँदैन । प्रस्ताव स्वीकार गर्ने–नगर्ने स्वतन्त्रता हुन्छ । पुरुषले गलत नजरले दुव्र्यवहार गर्छ भने मात्रै हिंसा हो । प्रस्ताव राख्नु हिंसा होइन ।’ उनी बुझ्ने समाजले मी टू लाई समर्थन गर्न नहुने बताउँछिन् । 

अधिकारकर्मी सुवेदीले प्रहरी कार्यालयभित्र हुने महिला सेल बिचालियाको संगठन भएको आरोपसमेत लगाइन् । उनले भनिन्, ‘सामान्य मानिसले हिंसा र बलात्कार गर्दा कारबाही गर्छन् तर शक्ति र सत्तामा भएको मान्छेले हिंसा गर्दा ऊसँग मिलेर पैसा खाने र उसलाई उम्काउने गर्छन् ।’ उनका अनुसार महिला सेलका प्रहरीसमक्ष कुनै महिला हिंसामा परे भनेर न्याय माग्न जाँदा पीडकलाई भेटेर ‘तैंले यति पैसा दिने भए दे, नत्र सिध्याइदिन्छु’ भन्ने गरेको दाबी सुवेदीको छ । उनले वीरगन्जमा गत कात्तिक २३ गते एउटा इन्सपेक्टरले अपराधीलाई उम्काएको आरोप उनले लगाइन् ।

देशकै ७७ जिल्लामा पुगेर स्थलगत अध्ययन गरेकी सावित्रीले महिला संघसंस्थाको क्षेत्रमा काम गर्नेहरू पाँचतारे होटलमा बसेर ठूला गरी विदेशी पैसा पचाउन सक्रिय रहेको बताइन् । उनले भनिन्, ‘संघसंस्थाले  पीडितको आँसु बेच्ने काममात्रै गरेका छन् ।’ रूपन्देहीको देवदहमा ५ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग उनले गरेकी छन् । 

बलात्कारीलाई फाँसी दिँदा कुनै मानव अधिकार हनन नहुने उनको भनाइ छ । उनी भन्छिन्, ‘जुन व्यक्तिले अबोध बालिकाको अधिकार हनन गर्छ, महिला स्वतन्त्रतामाथि आक्रमण गर्छ, त्यसलाई फाँसी दिँदा कसरी अधिकार हनन हुन्छ ?’ 

बाराको कोल्बी नगरपालिका–९ (साबिकको सफही–९) मा २९ वर्षअघि भानुभक्त सुवेदी र गंगा सुवेदीको कान्छी छोरीका रुपमा जन्मिएकी सावित्री मधेसी समुदाय बाहुल्य गाउँमा हुर्किएकी हुन् । महिला हिंसा र बलात्कारविरुद्धको उनको अभियानलाई समर्थन र आलोचना गर्नेहरू धेरै छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।