काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ।
भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराँती देख्दा गर्वले आँसु आयो, बिहानै ७:३० बजे मन्त्रालय पस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन्।
निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ। भिडियो आज बिहानको भएको बताइएको छ। कार्यालय सहयोगीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको बताइएको छ। मन्त्री किराती प्राय: सधैं बिहान साढे सात बजे नै मन्त्रालय पुग्छन्।