काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आईतबार तीन खेल हुदैछ । विभागीय टिम एपीएफ र सरस्वती युथ क्लब तथा थ्री स्टार र जावलाखेल युथ क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ भने च्यासल युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेल हलचोकस्थित एफिएफको खेल मैदानमा हुँदै छ ।
बिहान ११ बजे एपीएफ र सरस्वती आमनेसामने हुनेछन् । एनआरटीविरुद्व अघिल्लो खेलमा प्राप्त नतिजालाई विभागीय टिम दोहर्याउने लक्ष्यमा हुनेछ । छैटौ चरणको खेलमा उपाधि दाबेदार थ्री स्टारलाई कडा टक्कर दिएको सरस्वती सोही प्रर्दशनलाई निरन्तरता दिने प्रयास गर्नेछ ।
त्यस्तै खेल दिउँसो साढे २ बजे सुरु हुने दोस्रो खेलमा उपाधि दाबेदार थ्री स्टार क्लबले जावलाखेलविरुद्व खेल्दै छ । जावलाखेलसँग जित निकाले थ्रीस्टारले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने अवसर प्राप्त गर्ने छ । थ्री स्टार १५ अंक सहित तेस्रो स्थानमा छ ।
आजै हुने तेस्रो खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । छैटौ चरणमा हिमालयन शेर्पाविरुद्व जित निकाल्दै च्यासल लिगमा पुनः लयमा देखिएको संकेत गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४