बुधबार, चैत २५, २०८२

बिक्न छोड्यो चितवनमा दूध

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

चितवन- पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमित रुपमा बिक्री हुन छाडेको छ। जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो।

National life

जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन्। उनले भने, 'दूध उठ्न छाड्यो। अब कसरी बिक्री वितरण गर्ने?' नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए। 

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो। दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन्।

बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ। उनले भने, 'हामीले प्रदेश र संघीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ। अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन।'

बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताए। उनले भने, 'रात्रिबसमा लुकाइछिपाइ नौनी, पाउडर दूधलगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन्।' सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उनले आरोप लगाए।

kumari

बगालेले भने, 'यही अवस्था रहे किसान आन्दोलनमा उत्रनुको विकल्प छैन', किसानहरू सडक संघर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैले खोज्नुपर्ने दिन नजिकिएको उनको भनाइ थियो।

रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बगालेले बताए। उनले भने, 'दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन्।'

बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डीडीसी)ले दूध उठाउने गरेको छ। निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उनको भनाइ थियो।

दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको संघले जनाएको छ। दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उनले बताए। रासस

प्रकाशित: Feb 15, 2024| 20:31 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्