बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मानपुर–डेडगाउँ–बुलिङटार सडक ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्रे

मानपुर–डेडगाउँ–बुलिङटार सडक ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्रे

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

तनहुँ- गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रको तयारी गरिएको हो।

National life

ट्रयाक खुलेको २९ वर्षपछि यो खण्डमा कालोपत्र हुन लागेको हो। पूर्वाधार विकास कार्यालय तनहुँले यही फागुन ७ गतेदेखि अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र गर्न लागेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा फागुन ७ गतेदेखि २२ गतेसम्म सडक बन्द गरी कालोपत्र गर्न लागिएको हो।

‘तनहुँको घिरिङ गाउँपालिकास्थित मानपुरदेखि डेडगाउँसम्म सडक कालोपत्रका लागि बेस राख्ने काम भएको छ’, आचार्यले भने, ‘उक्त अवधिमा सडक बन्द गरी काम हुनेछ।’ यो खण्ड भई सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गरे।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्ग कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्ग कालोपत्र हुन लागेको आचार्यले जानकारी दिए।

रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो। सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो। त्यसलगत्तै नेपालमा कोरोनाको महामारीले गर्दा भएको लकडाउनको असरका कारण काम सुरु हुन सकेको थिएन।

kumari

तनहुँको घिरिङ–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ।

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले हिमाल र तराईलाई जोड्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा उक्त खण्डलाई सूचीकृत गरेको बताए। उनले भने, ‘भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको यस बाटो कालोपत्र भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्छ।’

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उक्त सडक कालोपत्र भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्ने बताए। उनले भने, ‘पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गको रुपमा रहेको यस खण्ड कालोपत्र भएपछि विभिन्न जिल्लाका हजारौँ नागरिक लाभान्वित हुन्छन्। यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार पनि हो।’

स्थानीयवासी सुमनकुमार श्रेष्ठले यस मार्गलाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा सूचीकृत गरेर कालोपत्रको काम सुरु गरेपछि यहाँका नागरिका हर्षित भएका बताए। उनले भने, ‘ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र हुने खबरले हामीलाई खुसी बनाएको छ। धुलाम्य र हिलाम्य बाटोले यात्रा कष्टकर बनेको थियो। कालोपत्र भएपछि सहज हुनेछ।’

प्रकाशित: Feb 15, 2024| 07:30 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्