बुधबार, चैत २५, २०८२

उदयपुरमा अदुवा उत्पादन घट्यो, बाली बदल्दै किसान

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

उदयपुर- जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर घट्दै गइरहेको छ।

National life

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको कटारी नगरपालिकाको सिरीसे, हर्देनी मयङखु, बेतिनी, घुर्मी, सोरुङछबीसे, कटारी, सोमबारे रिस्कु क्षेत्रसहित उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, बर्रे, तावाश्री क्षेत्रमा लामो समयदेखि व्यापकरुपमा उत्पादन हुने गरेको भए पनि कृषकले उचित मूल्य पाउन छाडेपछि हाल आएर अदुवाखेती समेत घट्दै गइरहेको कृषक बताउँछन्।

पाँच/सात वर्षदेखि अदुवाको उचित मूल्य पाउन छाडिएका कारण आफूहरुले विगतको जस्तो अदुवा खेती विस्तार गर्न छाडेको उदयपुर गढी भलायाडाँडाका कृषक बमबहादुर मगर बताए। कटारी-१० सोरुङछबीसेका कृषक गौरबहादुर राउत भन्छन्, 'अदुवा खरिदकर्ताले उचित मूल्य नै दिन मान्दैनन्, दु:ख गरेर अदुवाखेती गरे पनि उचित मूल्य नपाएपछि गाउँलेले पहिलेको जस्तो धेरै खेती गर्न छाडे।'

अर्का कृषक बेदबहादुर तामाङले जिल्लाभित्र वा बाहिरका बिचौलिया आएर सुरुमा नै ५० देखि ६० रूपैयाँसम्म प्रतिकिलो मूल्य तोकेर खरिद गर्ने गरेको बताए। उनले भने, 'उनीहरुले गाउँबाट बाहिर लगेर एकसय २५ रूपैयाँदेखि डेढसय रूपैयाँसम्म प्रतिकिलोमा बिक्री गर्छन्, हामी बर्सेनि ठगिन पर्ने बाध्यता छ।'

कटारी रिस्कु सोमबारेका कृषक रामु दनुवारका अनुसार वर्षेनी बाहिरका मान्छे आएर अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण कृषकले उचित मूल्य नपाएर कममात्र अदुवाखेती गर्ने गरेका छन्। गाउँघरबाट सस्तोमा खरिद गरेका अदुवा व्यापारीले विराटनगर, जनकपुर, वीरगञ्ज लगेर महँगोमा बिक्री गर्ने गरेका कृषक बताउँछन्।

kumari

आफूहरुले नसे र बोसे जातको अदुवा उत्पादन गर्ने गरेको सोमबारेका कृषक पदम दनुवार बताउँछन्। अदुवा खरिदकर्ता तथा व्यापारीले अदुवाको जातअनुसार फरक मूल्य निर्धारण गर्ने गरेका कारण आफूहरुले उचित मूल्य नपाएको कृषक बताउँछन्।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २०७५ सालदेखि २०७८ सालसम्म बर्सेनि पाँच सय ८८ हेक्टरदेखि पाँच सय ८३ हेक्टर क्षेफलमा अदुवाखेती हुँदै आएको देखिन्छ। विसं २०७९ र २०८० मा आएर पाँच सय ७७ हेक्टर क्षेत्रफलमा मात्र अदुवाखेती भएको तथ्याङक रहेको ज्ञान केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पा बताउँछिन्।

जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकासहित चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर चौदण्डीगढी क्षेत्रमा समेत हाल व्यावसायिक रुपमा अदुवा उत्पादन हुँदै गइरहेको ज्ञान केन्द्रले जनाएको छ। समयअनुसार उचित मूल्य नपाएपछि कृषकले विगतजस्तो व्यापकरुपमा अदुवाखेती विस्तार गर्न छाडेको कृषक बताउँछन्। 

प्रकाशित: Feb 15, 2024| 05:30 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्