पाल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र थप दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो।
मृतक सबैको पहिचान खुलेको छ। मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुन सकेको थिएन।
तिनाउँ गाउँपालिका-६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडक खण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मंगलबार साँझ दुर्घटनामा परेको थियो। अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका-६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ-६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका-१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन्।
यसैगरी तिनाउँ-२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका-१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रूपन्देही देवदह नगरपालिका-५ का २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको छ।
दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीप चालक तानसेन नगरपालिका-१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।