बुधबार, चैत २५, २०८२

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

तनहुँ- मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ। यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो।

National life

मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहनुभएका स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताए।

“आजदेखि आफूसँगै छिमकी ज्योतिकुमार श्रेष्ठले पनि घर भत्काउन थाल्नुभएको छ। आइतबारको बैठकमा सडक विस्तारको कामलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थियौँ”, उनले भने।

सडक विस्तार योजना (पूर्वीखण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै बजार क्षेत्रमा कामलाई तीव्रता दिइएको जानकारी दिए। उनले भने, “बजार क्षेत्रमा घर भत्काउन सुरु गरेर स्थानीयवासीले सडक विस्तारको कामलाई सहयोग गर्नुभएको छ।”

पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन्। त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन्। “यसका लागि ४५ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन्”, उनले भने।

kumari

“पूर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीकै संरचना हटाउन ढिलाइ भएको थियो”, इन्जिनियर पाण्डेले भने, “अब बजार क्षेत्रमा घर भत्काइसकेपछि सडक फराकिलो बनाउने कामलाई अगाडि बढाउँछौँ।” प्रहरी कार्यालयको संरचना हटाउन वडा कार्यालयले प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाइसकेको उहाँले जानकारी दिए।

मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको पाण्डेले बताए। उनका अनुसार बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ। यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ।

पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। करिब ४१.४५ किमिको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए। उनका अनुसार पोखरा खण्डमा पनि आइतबारदेखि कालोपत्र सुरु भएको छ।

पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु भएको थियो। योजनाको पश्चिम खण्डले तीन ठाउँमा कालोपत्रको काम गरिरहेको आयोजनाका आवासीय इन्जिनियर हेम श्रेष्ठले जानकारी दिए।

पौडेलका अनुसार फेबु्रअरिको अन्तिमसम्म एकतर्फी रुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ। पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडी बढेपछि दुईतर्फी कालोपत्र गरिने उनले जानकारी दिए। सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो। यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति छ।

विसं २०८१ भदौसम्म काम सक्ने गरी विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि जामुने–पोखरासम्मको काम सुरु भएको थियो।

प्रकाशित: Feb 13, 2024| 20:50 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्