बुधबार, चैत २५, २०८२

दुई वर्षभित्र धनीपुर्जा वितरण गरिसक्ने दमकको लक्ष्य

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

दमक- झापाको दमक नगरपालिकाले भूमिसम्बन्धी समस्या आगामी दुई वर्षभित्रमा टुंगोमा पुर्‍याएर जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरेको छ।

National life

दमकका १० वटा वडामा भूमिसम्बन्धी समस्या रहेका परिवारको सङ्ख्या ६ हजारभन्दा बढी रहेको छ। राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्रका अनुसार यहाँ भूमिसम्बन्धी समस्या रहेका यस्ता छ हजार एक सय ६० परिवारको निवेदन आएको छ। सोमध्ये दुई हजार चार सय ५६ भूमिहीन सुकुम्बासी, पाँच सय ५७ भूमिहीन दलित र तीन हजार एकसय ३७ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ।

दमकमा पाँच हजार नौ सय ५० परिवारलाई जग्गाको निस्सा भने यसअघि नै वितरण गरिसकिएको छ। दमकमा भूमिहीन सुकुम्बासी, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य सङ्ख्या रहे पनि हालसम्म भने ३४ परिवारले मात्र चालु वर्षमा भूमि स्वामित्व प्राप्त गरेका छन्। राष्ट्रिय भूमि आयोग झापाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिसकेको भए पनि धनीपुर्जा वितरणको काम भने तीव्र बनाउन सकिरहेको छैन। यही सुस्तताका बाबजुद दमक नगरपालिकाले भने आगामी दुई वर्षभित्रमा लगभग सबै सुकुम्बासीलाई जग्गा धनीपुर्जा दिनसक्ने लक्ष्यका साथ काम गरिरहेको दाबी गरेको छ।

सोअनुसार दमक वडा नं १० मा जग्गा धनीपुर्जा वितरण प्रयोजनका लागि कर्मचारी तथा प्राविधिक अर्थात् अमिनबाट जग्गा नापजाँच पूरा भएको छ। वडा नं ४ मा अन्तिम चरणमा रहेको छ भने वडा नं १ मा दिनहुँजसो जग्गा नापजाँच भइरहेको राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्रका प्रमुख डम्बरराज बरालले बताए। उनका अनुसार अब चाँडै नै वडा नं ५ र ८ मा जग्गा नापजाँच सुरु हुनेछ। 

त्यसका लागि जग्गाको स्रेस्ता, फिल्ड बुक, वडा नक्सा र फाइल नक्सा उपलब्ध गराउन नापी कार्यालय दमकसँग समन्वय भइरहेको जनाइएको छ। भूमि आयोग दमक सेवा केन्द्रका अमिन चण्डिका भट्टराईले पनि नगरपालिकाले भनेबमोजिम जग्गा नापजाँचलाई तीव्र बनाइएको बताए। दमक नगरपालिका प्रमुख रामकुमार थापाले भूमिसम्बन्धी सबै समस्या हल गर्न अब भने स्थानीय सरकारलाई छुट नभएको बताउँछन्।

kumari

जग्गा नाप जाँचलाई पहिलेभन्दा द्रुतगतिमा अघि बढाइने र स्थलगतरुपमा हुने प्राविधिक काम सकेर भूमि आयोग झापामा जग्गा धनीपुर्जा दिन आवश्यक प्रक्रियाका लागि कागजात पठाइने तयारी गरिएको उनको भनाइ छ।

'हामीले सुकुम्बासीलाई जग्गा धनीपुर्जा दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ, भूमि आयोगलाई पनि घच्घच्याइरहेका छौँ, उहाँहरु पनि तयार नै हुनुहुन्छ', नगर प्रमुख थापाले भने, 'केही समय जग्गा नापजाँच गर्ने यन्त्र बिग्रिएको तथा केही आन्तरिक व्यवस्थापकीय समस्याका कारण काममा ढिलाइ भएकाले अब भने आगामी दुई, अढाइ वर्षभित्रमा सबै सुकुम्बासीलाई जग्गाको धनीपुर्जा दिनेगरी द्रुत काममा जुट्नेछौँ।'

उनका अनुसार अहिले भने विगतमा गरेको कामका आधारमा ९१ परिवारलाई चाँडै नै जग्गा धनीपुर्जा दिने तयारी भइरहेको छ। त्यसका लागि भूमि आयोग झापाले जग्गामा कसैको हकदाबी भए गर्न भनी सार्वजनिक सूचनासमेत प्रकाशन भइसकेको छ। ४२ परिवारका फाइल भूमि आयोग पठाउने भनेर निर्णय भएको छ।

यसैबीच नगरपालिकाले भूमिसम्बन्धी काम कारबाहीका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ। नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकमा स्थानीय तहस्तरीय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति दमकका संयोजक नगरप्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईँसहित राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र प्राविधिकको उपस्थिति रहेको थियो। बैठकमा भूमि आयोग दमकमार्फत् हाल भइरहेको कामकारबाही, विगतको कार्यको समीक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल गरिएको थियो।

वर्षौँदेखि सुकुम्बासीका रुपमा रहेका आफूहरुको जग्गा नापजाँच हुँदा आफूहरुलाई खुसी लागेको भए पनि जतिसक्दो चाँडो जग्गाको धनीपुर्जा दिने वातावरण बनाइदिन भूमिहीनले माग राख्दै आएका छन्।

वर्षौँदेखि आफूहरु भूमिहीन भएको पीडा सुनाउँदै दमक-४ का नवीन श्रेष्ठले अब भने जग्गाको धनीपुर्जा पाएमात्र आफूहरुको खुसी वास्तविकतामा परिणत हुने बताए। रासस

प्रकाशित: Feb 13, 2024| 18:41 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्