बुधबार, चैत २५, २०८२

हुम्लाको गोठी गाउँमा गाडी पुग्दा बाजागाजाको स्वागत

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

सिमकोट- हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका-५ को गोठी गाउँपालिकामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी भएका छन्। गाउँपालिका केन्द्र सर्केगाड बजारमा गाडी पुगे पनि गाउँमा सडकले भने छोएको थिएन।

National life

गाउँमै मंगलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन्। स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौँदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसियाली मनाएको बताए। सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने भएको उनले बताए। अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

सडक सञ्जालसँग जोडिएपछि एकसाथ छ वटा बोलेरो जिप गोठी गाउँमा पुगेका थिए। आफ्नै गाउँमा गाडी पुगेको देखेर यहाँका ज्येष्ठ नागरिक पनि खुसी भएका अर्का स्थानीय जैमल शाहीले बताए। गाडी पुगेपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ। सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो।

गाउँमा ताँती लागेर आएका बोलेरो जिप र त्यसमा रहेका यात्रु तथा सवारी चालकलाई बाजागाजा तथा फूल अबिरले स्वागत गरिएको थियो। गाडी चालकलाई स्थानीयले फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए। दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबैखाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भएको शाहीले बताए।

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेव, पङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले चार करोड ४९ लाख रूपैयाँ बजेटको व्यवस्था गरेको थियो।

kumari

अघिल्लो आर्थिक वर्षबाट सो सडकको निर्माण सुरु भए पनि विष्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएका कारण ढिलागरी सडक निर्माण पूरा भएको हो। उक्त सडक पाँचदेखि दश मिटर चौडाइ छ। रासस

प्रकाशित: Feb 13, 2024| 22:02 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्