बुधबार, चैत २५, २०८२

पर्यटक लोभ्याउने लेतेको सुन्दरता

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

मुस्ताङ- काठमाडौंबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो। परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा २ घण्टा बितायो। 

National life

‘मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्’, सजिनाले भनिन्, ‘जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन।’ 

लेते पुग्दा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको महसुस गरेको घलेले अनुभव सुनाइन्। म्याग्दीको सीमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ। सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुम्छन्। बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचनले बताए। 

‘धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ’, उनले भने, ‘लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन्।’ 

कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुद्री सतहबाट २ हजार ५३० मिटरको उचाइमा छ। बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ। बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छन्। पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ। कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताए। 

kumari

‘हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो’, उनले भने, ‘लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ।’ लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन्। व्यवसायीहरूका अनुसार यहाँ १ रातमा १ हजार जनासम्म बास बस्न सक्छन्। 

वसन्त र शरदयाममा भरिभराउ हुने लेतेका होटल बेसिजनमा पनि खाली हुँदैनन्। लेते आसपासका क्षेत्रमा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको स्थानीयवासीसमेत रहेका प्रतिनिधि सभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए। 

लेतेबाट करिब ६ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफल र कालीबराह पुगिन्छ। १५ मिनेट उकालो हिँडेर पुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ। लेतेबाट १ घण्टाको पैदलयात्रा गरेपछि पुगिने सेकुङ, भुछत्रो र टिटीतालमा पूर्वाधार निर्माण गरिएको तुलचानले बताए। 

चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो। चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिनै उत्पादन हुने आलुको स्वादिष्ट परिकार चाख्न पाइन्छ यहाँ। पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ।

प्रकाशित: Feb 14, 2024| 05:31 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्