जनकपुरधाम-शनिबार साँझ जनकपुरको जानकी मन्दिरसंगै रहेको विवाह मण्डप भरिभराउ थियो । साताव्यापी कार्यक्रमका साथ सुरु भएको रामजानकी विवाहोत्सवको दोस्रो दिन शनिबार ‘फूलबारीलीला’ हेर्न ठुलो संख्यामा श्रद्धालु र स्थानीय जुटेका थिए, विवाह मण्डप परिसरमा ।
मर्यादा पुरुषोत्तम राम र सीताको रुप दिइएको थिइएको थियो, दुई बालबालिकालाई । यसका साथै अन्य बालिकाहरुलाई सीताको साथी बनाइएको थियो । उनीहरुको श्रृंगार र सज्जाधज्जा हेर्दा त्रेता युगमा भगवान राम र सीता शायद यस्तै थिए, भान भइरहेको थियो ‘फूलबारीलीला’ हेर्न पुगेका सयौं श्रद्धालुहरुलाई ।
मिथिलाका राजा जनकले छोरी सीताको विवाहगर्न राखेको शर्त शिव धनुष तोड्नु एक दिनअघि राम र सीताको फूलबारीमा भेट भएको मान्यता रहेको छ । र, सीतासँग अयोध्यावासी रामको पहिलो भेट भएको अवसरमा हरेक वर्ष रामजानकी विवाहोत्सवको अवसरमा ‘फूलबारीलीला’ मनाइन्छ ।
विवाहमण्डप परिसरमा राम र सीताको भूमिका निर्वाह गरीरहेका बालबालिकाको अभिनयले ‘फूलबारीलीला’ हेर्न पुगेकाहरुलाई मन्त्रमुग्ध बनाइरहेको थियो । ‘फूलबारीलीला’ को अवसरमा बजाइने गीत र संगीतले राम–सीताको पहिलो भेटको झझल्को दिइरहेको थियो भने त्यहाँको माहौल भक्तिमयसमेत बनेको थियो ।
फूलबारीलीलाको दोस्रो दिन आइतबार धनुषयज्ञ कार्यक्रम राखिएको छ । रामायणमा उल्लेख भएअनुसार राजा जनकले राखेका शर्तअनुसार भगवान रामले शिव धनुष तोडेपछि राम र सीताको विवाहसम्पन्न भएको थियो । सोहि मान्यता अनुसार जानकी मन्दिरमा धनुषयज्ञको कार्यक्रम राखिएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले बताएका छन् । जानकी मन्दिर प्राङ्नमा हुने धनुषयज्ञ कार्यक्रमपछि सोमबार तिलकोत्सव कार्यक्रम हुने उनले बताए ।
राम मन्दिर परिसरम हुने तिलकोत्सव (छिनोफानो) कार्यक्रममा भगवान रामको पिता दशरथको भूमिका राम मन्दिरका महन्त राम गिरीले गर्नेछन् भने सीताको पिता जनकको भूमिका जानकी मन्दिर महन्तले निर्वाह गर्दै आएका छन् । भारतको अयोध्यबाट पुगेका साधुसन्तहरुको समेत सहभागिता रहने तिलकोत्सव कार्यक्रममा मैथिली परम्परा अनुसार हाँसो ठट्यौलीसमेत हुने गरेको छ ।
विवाहोत्सवको प्रमुख कार्यक्रम २६ मंसिरका दिन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर पुग्दैछन् । मुख्यमन्त्री योगीे रंगभूमि मैदानमा हुने स्वयंभर कार्यक्रममा सहभागी हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४