बुधबार, पुस २, २०८२

सन् २०२३ मा परदेशिएका १६ लाखमध्ये ३ लाख ४० हजार विदेशमै बसे 

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- सन् २०२३ मा नेपालबाट बाहिरिएका ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेका छन्। गृहमन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिदाँ १२ लाख ६३ हजार ४६९ भित्रिए। 

National life

यस अवधिमा अध्ययनको लागि १ लाख ०८ हजार ५ सय ४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका छन्। त्यस्तै स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रुपमा विदेश मै रहने गरी गएका छन्। यसमा भारतको भूमि भएर तेस्रो देश गएका नागरिकहरुको संख्या समावेश छैन।

सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रुपमा विभिन्न देश गएका छन्। नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ०४ हजार ५१८ नागरिक बाहिरिएका छन्।

अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई मिति २०७८ फागुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको विवरण पनि पेस गरिएको छ।

हाल अध्यागमन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेकोमा सोमा वर्तमान समय सापेक्ष बनाउन केही विषयहरु थप गराउनुपर्ने र यसको आधारमा अध्यागमन नियमावलीमा समेत संशोधन गर्नुपर्ने आवश्यकताबारे समितिलाई जानकारी गराइएको छ।

Laxmi sunrise bank
kumari

'नेपालमा विद्यमान भिसाका प्रकारहरुमा समेत थप गरी सरलीकृत गर्नुपर्ने देखिन्छ। जस्तै अध्ययन भिसा, कामदार भिसा, रिटायरमेन्ट भिसा, मेडिकल भिसा, धार्मिक भिसा, खेलकूद भिसा लगायत अन्य प्रकारका भिसा थप गरी सरलीकृत गर्नु पर्ने देखिन्छ' छलफलका लागि पेस गरिएको बुँदामा छ।

हालसम्म अध्यागमनको प्रस्थानलाई बढी ध्यान दिएकोमा अब राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी विदेशी आगमनलाई निगरानी बढाउनुपर्ने देखिएको उल्लेख छ।

प्रकाशित: Feb 11, 2024| 18:00 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्