काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्रीलाई यो प्रश्न गरेका हुन्।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो। बैठकमा रास्वपा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।
उनले भने, ‘अरुण चौधरीकै जति सेयर भएका सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन ?
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। यही क्रममा व्यवसायी अरुण चौधरी पक्राउ परेका थिए। उनी अहिले हाजिर जमानीमा छुटेका छन् तर अनुसन्धान जारी छ। अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि सेयर भएको भेटिएको सीआईबीको भनाइ छ।
सांसद लामिछानेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले जो-जोसँग बुझ्नुपर्छ बुझिने र सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए। उनले भने, 'अनुसन्धानको प्रक्रियामा जो-जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं।’