बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघका सभापतिबारे लेखिएको पुस्तक 'अग्र अनुहार' विमोचन, फोनिजको अनावश्यक लफडा

पत्रकार महासंघका सभापतिबारे लेखिएको पुस्तक 'अग्र अनुहार' विमोचन, फोनिजको अनावश्यक लफडा

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक 'अग्र अनुहार' विमोचन गरिएको छ। नेपाल पत्रकार महासंघका सभापतिहरुबारे लेखिएको उक्त पुस्तक विमोजमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले अनावश्यक अवरोध सिर्जना गरेको छ। 

National life

महासंघको संस्थापक सभापतिको विषयलाई विवाद बनाउँदै फोनिजका पदाधिकारी र समर्थकहरूले विमोचनको बेलामा मञ्‍चमै गएर अग्रज पत्रकारहरूको हातबाट किताब थुतेर च्यातेका हुन्। आयोजकले पुस्तक विमोचन भएको घोषणा गरिसकेको छ।

फोनिजले महासंघको संस्थापक अध्यक्ष सत्यन्द्रबहादुर श्रेष्ठ भएको दाबी गरेको थियो। पत्रकार महासंघको आधिकारिक दस्ताबेजहरूमा भने संस्थापक अध्यक्षको रूपमा कृष्णप्रसाद भट्टराई उल्लेख छ। महासंघका दस्तावेजहरुमा उल्लेख भएको कुरालाई नै बेवास्ता गर्दै फोनिजले अनावश्यक लफडा सिर्जना गरेको हो। 

भृकुटीमण्डपको हलमा आयोजित कार्यक्रम हुन नदिन फोनिजका पदाधिकारी समर्थकहरू कार्यक्रमस्थलमा भेला भएपछि कार्यक्रममा प्रमुख अतिथि र मुख्य अतिथि तोकिएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मा उपस्थित भएनन्।

फोनिज र महासंघका प्रतिनिधिबिच भएको छलफलमा संस्थापक अध्यक्षबारे अध्ययन गरेर विवाद टुङ्ग्याउने मौखिक सहमति भएपछि निर्धारित कार्यक्रम एक घण्टापछि सुरु भएको थियो। कार्यक्रममा फोनिजका प्रतिनिधीहरुले पुस्तकको सामग्रीको अध्ययनपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताएपछि कार्यक्रम अगाडि बढेको थियो। 

kumari

पुस्तकमा महिलालाई स्थान नदिएको भन्दै आलोचना भएपछि आयोजकले पत्रकार महासंघका अध्यक्ष र सभापतिहरूबारे लेखिएको र हालसम्म कुनै महिला पत्रकार अध्यक्ष नभएकाले समेट्न नसकिएको धारणा राखेको थियो। 

कार्यक्रममा किशोर नेपाल, हरिहर विरही, प्राध्यापक रामकृष्ण रेग्मी अनि महासंघका अध्यक्ष विपुल पोखरेलले इतिहास अध्ययन र अनुसन्धानबाट थप प्रमाण फेला परेमा संशोधन हुँदै जाने धारणा राखेका थिए। 

पत्रकार नेपालले पत्रकार महासङ्घको नेतृत्वबारे लेखिएको पुस्तकबारे नानाथरी टिप्पणी भएकोमा आफूलाई दिक्क लागेको उल्लेख गर्दै भने, 'यो राम्रो काम हो। तर विवाद निकाल्ने हाम्रो बानी भइसक्यो।' \हरिहर विरहीले वाक तथा प्रेस स्वतन्त्रको पक्षमा संघ हुँदै पत्रकार महासंघसम्मको नेतृत्व गरेका अग्रजहरूबारे पुस्तक लेखिएकोमा खुसी लागेको भन्दै संस्थापक अध्यक्ष को हो लगायतका विषयमा अन्योल हो भने अध्ययन र प्रमाणको आधारमा संशोधन गर्न सकिने र संशोधन गर्नुपर्ने धारणा राखेका थिए।

पत्रकारिताका प्राध्यापक रेग्मीले प्रेस तथा वाक स्वतन्त्रताबारे केही लेख्‍ने प्रयास गर्दा नेपाली सामग्री नै फेला नपर्ने अवस्थामा महासंघको प्रतिष्ठान प्रदेशले महासंघको नेतृत्व गरेका २३ जनाबारे प्राप्त दस्ताबेज र कुराकानीको आधारमा लेखिएको पुस्तक उपयोगी भएको बताएका थिए।

पुस्तकमा समेटिएका महासंघका नेतृत्वकर्ताहरूका आधारमा पञ्चायतकाल, प्रजातन्त्र हुँदै लोकतन्त्रसम्मको अवस्थाबारे जानकारी पाउन सकिने गहकिलो काम भएको भन्दै उनले पुस्तकमा कुनै कमजोरी भए प्रमाणका आधारमा संशोधन गर्न सकिने बताएका थिए। महासंघका अध्यक्ष पोखरेलले संस्थापक अध्यक्ष को हो भन्ने विषयमा देखिएको विवाद तत्काल समाधान गर्न पहल गरिने बताएका थिए। 

प्रकाशित: Feb 11, 2024| 16:06 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्