बुधबार, चैत २५, २०८२

६ महिनामा समातिए ३ हजार लागुऔषध कारोबारी

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौँ- नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ ।

National life

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार पक्राउ परेकामध्ये एक हजार नौ सय ६० मुद्दा दर्ता भएका छन् ।

अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज तयार गर्ने काठमाडौँ सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौँ दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परेका छन् । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागुऔषध कोकिन एक किलो नौ सय ७३ ग्रामसहित पक्राउ परेका छन् । धादिङ कोइली खर्कका कान्छा तामाङ र भीमबहादुर तामाङ लागुऔषध चरेस २५ केजीसहित पक्राउ परेको प्रहरी तत्थ्याङ्कमा उल्लेख गरिएको छ । 

यसैगरी पक्राउ पर्नेमा मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्रमात्रै भएको प्रहरीको दाबी छ । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधिजस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुबाट गाँजा आठ हजार तीन सय तीन सय २० केजी, चरेस तीन सय आठ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी बरामद गरिएको प्रहरीको दाबी छ । 

kumari

यसैगरी डाइजेपाम २३ हजार पाँच एम्पुल, फेनारगन २७ हजार एक सय ३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार छ सय ७४ एम्पुल, लुपिजेसिक एक हजार चार सय १५ एम्पुल, नाइट्राभेट ६३ हजार पाँच सय ४७ ट्याबलेट, स्पास्मो ११ हजार ७२, कोरेक्स छ हजार पाँच सय ७१, एभिल सात सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाइजिन चार हजार सात सय ६२, अन्य एम्पुल छ हजार चार सय ८२, अन्य ट्याबलेट एक हजार पाँच सय ५८ र आइस दुई ग्रामसमेत बरामद भएको छ । 

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै लागुऔषध गाँजा तीन हजार आठ सय ९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । यसैगरी कोशी प्रदेशबाट पाँच केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ । 

लागुऔषध दुव्र्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरूजस्तै अभियुक्तहरूको सूची लामो रहेको प्रवक्ता ढकालले बताए । उनले भने, “गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थसमेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ सङ्ख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य हो ।”

लागुऔषधको प्रकोपबाट धेरै युवा कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीले व्यापक रूपमा कडाइ गर्न थालेको केन्द्रीय प्रहरी प्रवक्ता ढकालको दाबी छ । “यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनका साथै सरकारको एकल पहलमात्र नभई सबै क्षेत्रबाट पहलकदमी लिनुपर्ने देखिन्छ”, उनले भने।

लागुऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको र कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पर्ने भएकाले राष्ट्रिय रूपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा ऊर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको प्रवक्ता ढकालको भनाइ छ । सामाजिक समस्याका रूपमा रहेको लागुऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो सङ्ख्यामा अपराधी पक्राउ परेका हुन् ।
 

प्रकाशित: Feb 11, 2024| 11:45 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्