बिहीबार, असार ११, २०८३

घूसलाई सापटी भनेपछि साक्षीलाई कैद

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

काठमाडौं- घूस मुद्दामा पनि साक्षी होस्टाइल हुन थालेपछि विशेष अदालतले सजाय गर्न थालेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले प्रतिकूल बकपत्र गर्ने यस्तै एक साक्षीलाई कैद साजय सुनाएको छ।

National life

सामान्यतः कानुनले घूस लिने र दिने दुवैलाई सजाय हुन्छ। तर उजुरी दिने र अनुसन्धानमा सघाएवापत् कतिपय अवस्थामा घूस दिने व्यक्तिले सजायबाट उन्मुक्ति पाउँछन्। त्यस्ता व्यक्तिलाई सरकारी साक्षी पनि भनिन्छ।   

शुक्रबार विशेषले सरकारी साक्षी भएर पनि प्रतिकूल बकपत्र गरेको भन्दै घुस दिने नबि अख्तर मियाँलाई सजाय सुनाएको हो।

मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र कलैया महानगरपालिका २५ का गौरीशंकर कुशवाहले घुस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। 

जग्गा रजिस्ट्रेसन पास गर्न भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ माग गरिरहेको सूचना आएपछि हेटौँडाबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साह र कुशवाहलाई १५ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको थियो। 

Shivam cement

खरिदार साहले कुशवाहलाई घूस रकम लिन लगाएको अख्तियारको अनुसन्धानले देखाएको थियो। पछि कुशवाहलाई मतियार र साहलाई मुख्य कसुरदारका रूपमा प्रतिवादी बनाई २९ जेठ ०८० मा मुद्दा दायर गरिएको थियो। अदालतले साहलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ।  

यसैगरी, मतियार कुशवाहलाई १५ दिन कैद तथा ७५ सय रुपैयाँ जरिवाना तोकिएको छ। 

यस मुद्दामा घुस बुझाउने मियाँलाई अख्तियारले सरकारी साक्षीका रूपमा सजाय छुटको माग गर्दै अदालतमा पेस गरेको थियो । तर, उनले अख्तियारमा गरेको बयानभन्दा फरक बकपत्र गरेपछि अदालतले एक महिना कैद हुने फैसला गरेको हो। उनले अदालतमा उक्त रकम घूस नभई सापटी दिएको भनेका थिए।

प्रकाशित: Feb 10, 2024| 12:40 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्