मंगलबार, पुस १, २०८२

रुसी सेनामा भर्ना भएका १४० नेपालीले दिए उद्धारका लागि आवेदन

हालसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने ५ जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन्।
 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

काठमाडौं- पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्।

National life

परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्।

यसैगरी कन्सुलर सेवा विभागमा करिब १४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्। यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन।

मन्त्रालयले हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको जनाएको छ।

यसैगरी, रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।

Laxmi sunrise bank
kumari

यस्तै, रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ।

रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए।

साथै उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए।

मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ।

गत महिना युगाण्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रुसका सहायक विदेश मन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउनका लागि कुरा गरेको मन्त्रालयले जनाएको छ।

नेपाली युवा रुसी सेनामा भर्ना भएका भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्तिमार्फत परम्परागत रुपमा रहेको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो।

त्यसैगरी मन्त्रालयले सरकारी कामकाज, रुस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर मात्र यात्रा गर्न अपिल गरेको छ।

कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ।

उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरुबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपिल गरेको छ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते नेपालीको सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा रुस सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन्।

हाल परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा रहेको र उनी स्वदेश फर्केलगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए।

पछिल्लो समय रुस–युक्रेन युद्ध चर्किदै गएपछि र ‘रेडजोन’मा पठाउन थालेपछि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गर्ने गरेका छन्।

यही वर्षको दशैँलगत्तै रुसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुःखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्। सन् २०२२ फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच युद्ध जारी छ।

प्रकाशित: Feb 10, 2024| 11:33 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्