मंगलबार, पुस १, २०८२

सडक स्तरोन्नतिपछि यात्रा अवधि छोटियो

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

म्याग्दी- म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिएको छ। मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ।

National life

दरवाङदेखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्रा अवधि १५ मिनेटमा छोटिएको धौलागिरि गाउँपालिका–७ धारापानीका रिमप्रकाश थापाले बताउ।

‘बाह्र वर्षअघि चन्दा जुटाएर मार्ग मात्र खोलिएको सडक कच्ची साँघुरो र ग्रेड नमिलेको थियो’, उनले भने, ‘घुम्ती तथा मोड र ग्रेड सुधारसँगै अप्ठ्यारो ठाउँमा ढलान भएपछि यात्राका क्रममा सहज र सुरक्षित महसुस हुन थालेको छ।’

नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धौलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बन्न थालेको छ। सडक सुधार भएपछि यातायातको भाडादर घटाउन स्थानीयले माग गरेका छन्।

विसं २०६७ मा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा एक करोड ५० लाख खर्चेर यो सडकको मार्ग खोलिएको थियो। गण्डकी प्रदेश सरकारको पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत विसं २०७६ चैत ४ गते दरवाङदेखि फेदी हुँदै धारापानी खण्डको ६ किलोमिटर ६ सय मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको थियो।

Laxmi sunrise bank
kumari

१४ करोड ३८ लाख ६७ हजारमा विसं २०७८ असारमा सम्पन्न गर्ने लक्ष्यसहित धुलिखेल–ब्राइट–कुँवर जेभीले पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का लिएको आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा सहायक निर्माण व्यवसायीले काम छाडेपछि करिब एक वर्ष अलपत्र परेको थियो।

विसं २०७९ को भदौमा कार्य क्षेत्रमा आएको मुख्य निर्माण कम्पनीका कर्मचारी हरिप्रसाद हुमागाईले हाल ९३ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको बताए।

दरवाङदेखि धारापानीसम्म ६ किलोमिटर सडक फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गरेका छौँ’, उनले भने, ‘बादिकाको अप्ठ्यारो र साँघुरो भीरमा ३२४ मिटर सडक ढलान भएको छ।’

तीन दशमलव ५ तीनदेखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७ दशमलव ५ मिटरका दरले फराकिलो बनाइएको छ। ग्रेड नमिलेको ठाउँमा चार सय मिटर नयाँ मार्ग खोलिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी अर्जुन शर्माले बताए।

यो सडकलाई प्रदेश सरकारले चालु आवमा पाँच करोड बजेट विनियोजन भएको छ। यो सडकलाई मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमसँग जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न जोड दिइएको म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए।

प्रकाशित: Feb 10, 2024| 12:15 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्