फाइल तस्बिर
काठमाडौं- साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० मा सुखद सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १सय ५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे । उनले ३ छक्का र १ चौका प्रहार गर्दै अविजित ३६ रन जोडे । यस्तै आसिफ शेखले १९, अनिल कुमार साहले ११ रन जोडे ।
ललितपुरका गौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन जोडे । उनले ५२ बल खेल्दै तीन चौकार र दुई छक्काको मद्दतमा ४९ रन जोडेका हुन् । त्यस्तै सन्नि पटेलले २० जोड्दा पवन सराफले १४ रन जोडे ।
ललितपुरका अन्य व्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । पारस खड्काको कप्तानिमा रहेको विराटनगरका लागि रोइलोफ भान डेर मेर्वे र करन केसीले समान दुई दुई विकेट लिँदा, बसन्त रेग्मी, पारस खड्का र स्मिथ पटेलले समान एक एक विकेट लिए ।
जितसंगै विराटनगरले २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । लिग अन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४